हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा आज बुधबारबाट हेटौँडामा सुरु हुँदैछ । हेटौँडा–२ स्थित पल्पसा सदनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुने कार्यक्रम रहेको संघले जनाएको छ । वार्षिक साधारणसभाले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र उपाध्यक्ष प्रमोद सिंह रानाभाट अध्यक्षका आकांक्षी हुनुहुन्छ । दुबैले प्यानलै बनाएर निर्वाचनमा भिड्ने तयारी गरेको छ । रानाभाटले आइतबार र अग्रवालले सोमबार घोषणापत्रसहित प्यानल घोषणा गर्नुभएको थियो । अध्यक्षसहित २८ पद प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । यस वर्षदेखि सबै पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएसँगै निर्वाचनको माहौल थप प्रतिस्पर्धात्मक भएको छ ।

यस पटकको निर्वाचनमा १६ जना नयाँ अनुहार मैदानमा देखिएका छन् । निर्वाचनमा लागि तयार भएको २ वटा अध्यक्षको प्यानलबाट १५ र एक स्वतन्त्र गरी १६ जना पहिलो पटक चुनावी मैदानमा होमिने भएका हुन् । निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाटको प्यानलबाट १० जनाले पहलो पटक चुनावी अनुभव लिँदैछन् भने अध्यक्ष पदका उम्मेदवार अनिल अग्रवालको प्यानलबाट ५ जना पहिलो पटक चुनाव लड्दैछन् ।

रानाभाट प्यानलबाट वाणिज्य तर्फको सदस्यका लागि राजदेव बनियाँ, सन्तोष घिमिरे, होमनाथ खनाल (रोशन) र निलम बजगाईं देवकोटा पहिलो पटक निर्वाचनमा भाग लिँदैछन् । सोही प्यानलबाट उद्योग तर्फको सदस्यमा जगदीश दाहाल, कृष्णराज कोइराला र भुपेन्द्र अधिकारी चुनाव लड्दैछन् । दाहाल र कोइराला यसअघि पनि संघको मनोनित सदस्य भएर काम गरिसकेका छन् । एशोसिएटतर्फ नवराज खतिवडा र सुकृतराज पराजुली तथा वस्तुगततर्फ कृष्ण अर्याल पहिलो पटक चुनाव लड्ने तयारीमा छन् ।

अग्रवाल प्यानलबाट वाणिज्यतर्फ यज्ञबहादुर राय (विनोद), उद्योग तर्फबाट कृष्णगोपाल महर्जन, गंगा कुमारी श्रेष्ठ र वस्तुगततर्फ शम्भु पुडासैनी पहिलो पटक चुनाव लड्दैछन् । स्वतन्त्र रुपमा उद्योग तर्फबाट राजेश थापा (गरिब) पनि सदस्य पदमा चुनाव लड्दैछन् । संघको पदाधिकारीका लागि एक कार्यकाल सदस्य निर्वाचित भएको अनिवार्य हुनु पर्ने भएकाले नयाँ अनुहार सदस्यमा नै सीमित भएका हुन् ।