Home खेलकुद एनपीएलको ट्रफी हेटौँडामा

एनपीएलको ट्रफी हेटौँडामा

ट्रफीसहित जनकपुर बोल्ट्सको टिम ।

हेटौँडा ः नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी हेटौँडा आइपुगेको छ । पहिलो संस्करणको एनपीएल विजेता जनकपुर बोल्ट्सको टिम क्याप्टेन अनिल साहसँगै ललित राजवंशी र अरनिको यादव, जनकपुर बोल्ट्सका मालिक उत्सव सिग्देल ट्रफीसहित हेटौँडा आइपुगेको हो ।

जनकपुर बोल्ट्सले ट्रफीसहित हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदन माविमा विद्यार्थीसँग खुसियाली साटासाट गरेका छन् । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट जनकपुर बोल्ट्सको शैक्षिक साझेदारको रुपमा जोडिएको छ । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट र नवोदय शिशु सदनमा ट्रफी प्रदर्शन गर्दै विद्यार्थीले खेलाडीसँग हस्ताक्षर संकलन गरेका छन् ।

नवोदय शिशु सदन माविका सञ्चालक समेत रहनुभएका हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले आफ्नो संस्थाको प्रचारप्रसारका साथै लोकप्रिय खेलको विकासका लागि जनकपुर बोल्ट्ससँग साझेदारी गरेको बताउनुभयो । जनकपुर बोल्ट्सलाई २५ लाख रुपैयाँ दिएर शैक्षिक साझेदार बनेको उल्लेख गर्नुहुँदै पूर्वविद्यार्थी समेत रहेका जनकपुर बोल्ट्सका क्याप्टेन अनिल साहलाई १० लाख रुपैयाँ दिएर हेटौँडा स्कूल अफ म्यानेजमेन्टको ब्राण्ड एम्बासेडर बनाएको जोशीले जानकारी दिनुभयो ।

पहिलो संस्करणको उपाधि जितेर जनकपुर बोल्ट्सले हेटौँडालाई पनि खुसी बनाएको जोशीको भनाइ थियो । विद्यार्थीसँग अन्तरक्रिया गर्दै जनकपुर बोल्ट्सका क्याप्टेन अनिल साहले उपाधि जित्दाको खुसी साट्न पाउँदा आनन्द महसुस भएको बताउनुभयो ।

Exit mobile version