Home अन्तरवार्ता ‘व्यवसायीलाई कसरी स्थायी गर्न सकिन्छ भन्ने विषयमा हामी अगाडि बढ्छौँ’

‘व्यवसायीलाई कसरी स्थायी गर्न सकिन्छ भन्ने विषयमा हामी अगाडि बढ्छौँ’

अनिल अग्रवाल मकवानपुर उद्योग वाणिज्य संघको आसन्न साधारणसभामा अध्यक्षका आकांक्षी

उद्योगी, व्यवसायीको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा भोलि बुधबारदेखि हेटौँडामा सुरु हुँदैछ । साधारणसभाले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयन हुने भएपछि अनिल अग्रवाल र प्रमोद सिंह रानाभाटको दुई वटा समूह प्यानल नै बनाएर निर्वाचनमा होमिँदै छ । निर्वाचनको सन्दर्भमा उद्योग वाणिज्य संघ मकवानपुरको वर्तमान समितिका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका अग्रवालसँग उहाँहरुको उम्मेदवारी, वर्तमान उद्योगी, व्यवसायीको अवस्था, आफ्नो उम्मेदवारीका आधारहरु, आगामी चुनौति, अवसर र योजनाका सन्दर्भमा समृद्ध समाज राष्ट्रिय दैनिकका सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी ।

समाज ः तपाईले आफ्नो अध्यक्षको उम्मेदवारको सन्दर्भ कसरी व्याख्या गर्नुहुन्छ ? के–के आधारमा आफुलाई अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत गर्नु हुन्छ ?
अग्रवाल ः म मकवानपुर उद्योग वाणिज्य संघमा २०६४ सालमा आमन्त्रित सदस्यको रुपमा आवद्ध भएको हुँ । म संघको कार्यसमिति सदस्य, सह–कोषाध्यक्ष, पुनः सदस्य, कोषाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्दै आएको हुँ । अब अध्यक्षको रुपमा सहज ३ वर्षे कार्यकाल विधिपूर्वक चलाउन सक्ने आँट मसँग रहेको छ । मैले कसैको विरुद्धमा उम्मेद्वारी दिएको होइन । प्रक्रियागत रुपमा मैले विभिन्न पदमा काम गरेर आएर अहिले नेतृत्व गर्न सक्छु र हाल वरिष्ठ उपाध्यक्ष भएर काम गरिरहेकाले अब अध्यक्ष पदको उम्मेदवार बनेको हुँ ।

समाज ः तपाई अध्यक्ष हुँदा उद्योगी, व्यवसायीका कस्ता मुद्दा बोक्नुपर्छ भन्ने महसुस गर्नुभएको छ ।
अग्रवाल ः
१७ वर्षको उद्योग वाणिज्य संघको कार्यकालमा राजश्व तथा करहरुको समस्या, विभिन्न अनुगमनका समस्यामा संघले गर्न सकेको छैन । व्यवसायीलाई अनुगमनका क्रममा नडराइकन राज्यले खोजेको चाहेको नियमन गर्ने र त्यसमा संघले सहजीकरण गर्नुपर्छ । मैले त्यस्ता विषयलाई संघको मुद्दाको रुपमा अघि बढाउनेछु ।

समाज ः मकवानपुर उद्योग वाणिज्य संघ भनेको उद्योगी भन्दा पनि व्यापारीहरुको मात्रै संघ भएको बुझिन्छ । कति उद्योग स्थापनाका लागि सहजीकरण गर्न सक्यौं । मकवानपुरको उद्योगमा कुन खालको स्थिति हिजो थियो, आज के भयो ? उद्योगको विषयलाई तपाईँले कसरी हेर्नुहुन्छ ।
अग्रवाल ः
मकवानपुर उद्योग वाणिज्य संघमा अहिले व्यापारीहरुको संख्या बढेको देखिएको छ । उद्योगीहरुमा चासो नदेखाइएको अवस्थाहरु पनि छ । अब त्यस्तो हुने छैन । हेटौंडा औद्योगिक क्षेत्रमा धेरै उद्योगीहरुले जग्गाहरु ओगटेर राखेको अवस्था छ । त्यहाँ उद्योग खोल्न सकेको छैन । म अध्यक्ष भएँ भने यसलाई व्यवस्थापन गर्नेछु ।

समाज ः नयाँ औद्योगिक क्षेत्रको परिकल्पना गरियो । सरकारले यस्तो खालको प्रयास पनि गरेको छ तर कार्यान्वयनमा आएको छैन । यस विषयमा संघले त्यति उठान गरेको पाइँदैन । तपाईको यो विषयमा धारणा र योजना के रहन्छ ?
अग्रवाल ः
भुवनलाल श्रेष्ठको पालामा मयुरधाप औद्योगिक क्षेत्रको परिकल्पना गरिएको थियो । यसलाई हेटौँडामा अर्को औद्योगिक क्षेत्र बनाउने योजना रहे पनि निकुञ्ज र आरक्षले गर्दा बनाउन नसकिएको हो । चित्रेपानीमा रहेको २ हजार रोपनी जग्गा रहेको पाइएको छ । यसलाई नै हामीले अर्को औद्योगिक क्षेत्र बनाउने योजना रहेको छ ।

समाज ः अहिले मकवानपुर उद्योग वाणिज्य संघको भूमिका कस्तो छ । तपाई स्थापित हुनुभयो भने कस्तो खालको भूमिका निर्वाह गर्नु हुन्छ ।
अग्रवाल ः संघमा म स्थापित भएँ भने स्थानीय सरकार र प्रदेश सरकारसँगको सम्बन्ध सुधार गर्ने प्रयास रहनेछ । बागमती प्रदेश उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको बीचमा पनि मकवानपुर उद्योग वाणिज्य संघको सम्बन्ध अझै विस्तारित गरेर लानेछु । नगरपालिकाले बढाइरहेको करका कारण हाम्रा व्यवसायीहरु अहिले व्यवसाय कर र विज्ञापन करले पीडित छन् । आगामी वर्षमा हामी यसलाई पुरानै दरमा कायम गर्ने मेरो प्रतिवद्धता रहेको छ । अहिले बैंक तथा वित्तीय क्षेत्र समस्या रहेको छ । बैंकले ऋण नदिइरहेको अवस्थालाई उद्योग वाणिज्य संघले सहजीकरण गर्नेछ ।

समाज ः स्थानीय सरकारसँग संघको तिक्तता रहेको छ । प्रदेश सरकारसँग सम्बन्ध नै जोड्न नसकेको जस्तो बुझिन्छ । स्थानीय र प्रदेश सरकारसँग सम्बन्ध निर्माण गर्ने तपाईँको योजना कस्तो छ ? स्थानीय सरकारसँग सम्बन्ध राम्रो बनाउने र प्रदेश सरकारसँग सम्बन्ध स्थापित गर्ने उपाय के देख्नु हुन्छ ।
अग्रवाल ः
उद्योग वाणिज्य संघ एउटा गैरराजनीतिक संस्था हो । स्थानीय सरकारसँग चिसिएको सम्बन्धलाई सुधार गर्नेछौं । प्रदेश सरकारसँग संघ र व्यवसायीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने नीति निर्देशनका कुराहरुमा प्रदेश सरकारसँग उद्योग वाणिज्य संघको जोडिने उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालयहरुसँग सहजीकरण गरेर मकवानपुरको विकास कसरी गर्न सकिन्छ ? व्यवसायीहरुलाई कसरी स्थायी गर्न सकिन्छ भन्ने विषयमा हामी अगाडि बढ्छौँ ।

समाज ः मकवानपुर जिल्लामा उद्यम व्यवसायको क्षेत्रमा नयाँ लगानी भित्रन नसक्नुको कारण के हो ?
अग्रवाल ः
लगानीकर्ताहरु नभित्रिएको, नआएको भन्न मिल्दैन । अहिले पनि हेटांैडा औद्योगिक क्षेत्रमा नयाँ–नयाँ प्लान्टहरु लागिरहेको छन् । लगानीकर्ताहरु आइरहेका छन् । तर चाहेको जस्तो, सोचेको जस्तो भएको छैन । हेटौंडा औद्योगिक क्षेत्रभित्र जग्गा नपाइनुका कारण लगानीकर्ताहरु बाहिर जान थालेका छन् । यसैका लागि हामीले चित्रेपानीको २ हजार रोपनी जग्गा प्रदेश सरकार स्थानीय सरकारसँग पहल गर्नेछौं ।

समाज ः बजार क्षेत्रमा रहेको वाणिज्य क्षेत्रमा पनि खासै नयाँ व्यवसायीहरुको लगानी प्रवेश भएको देखिँदैन नि ।
अग्रवाल ः
देश आर्थिक मन्दीमा गइरहेको छ । बैंकको व्याज बढ्दो रुपमा रहेको व्यवसायी मारमा परेका छन् । राज्यले निर्माण व्यवसायीहरुको ६० अर्व रुपैयाँ भुक्तानी नगर्दा आर्थिक मन्दि छाएको छ । अहिले धेरै व्यवसायीहरु पलायन भइरहेको अवस्था छ । पहिले विद्यार्थीहरु पढाइका लागि देश छोडेर गएका थिए भने अहिले आर्थिक मन्दीका कारण व्यवसायीहरु पनि पलायन भइरहेका छन् ।

समाज ः आर्थिक मन्दी भयावह अवस्थामा रहेको छ । तपाईँ उद्योग वाणिज्य संघको कार्यसमितिमै रहिरहनुभएको हुँदा यो जटिलतालाई समाधान गर्न सम्भावना कतिको देख्नुहुन्छ ?
अग्रवाल ः
आगामी दिनमा राम्रै व्यापार हुन्छ । हेटांैडा बजारका सटरहरु बन्द हुने अवस्था हुँदैनन् भन्ने चाहिँ मलाई लागेको छ । हिजोको बैंकको १५ प्रतिशत व्याज अहिले ८ प्रतिशतमा झरेका कारण व्यवसायीहरुलाई राहत मिलेको छ । पसल खोलेर मात्रै नभएर ग्राहकहरु पनि आउनुपर्ने अवस्थामा अहिले युवाहरु धेरै विदेश पलायन भएका कारण व्यापार घटेको हो । बोर्डर एरिया नजिकरहेको र सामान सस्तो पाउने अवस्थामा बोर्डर एरियाका व्यवसायीहरु बढिरहेको र स्थानीय व्यवसायीहरु घटिरहेको अवस्था छ । हामीले पटक पटक प्रशासनसँग यो विषयमा छलफल गरिरहेका छौं ।

समाज ः यतिबेला उद्योग वाणिज्य संघ, महासंघको भूमिका कमजोर देखिएको हो ?
अग्रवाल ः
स्थानीय सरकार, प्रदेश सरकारमा उद्योग वाणिज्य संघलाई त्यति महत्व दिएको मैले देख्दिनँ । नगरपालिकाको राजश्व परामर्श समितिको बैठकमा उद्योग वाणिज्य संघ अनिवार्य सदस्य हुने व्यवस्था छ । उद्योग वाणिज्य संघले दिएको परामर्श व्यवसाय कर, विज्ञापन कर, बढाउनु हुँदैन । तर, बढाउने गरी माइन्युट गरिएको अवस्था छ । पछि नगरसभाबाट कर बढाइएको छ । नगरपालिकाको कर बढ्नु उद्योग वाणिज्य संघलाई प्राथमिकता नराख्नु भन्ने बुझिन्छ । उद्योग वाणिज्य संघको महत्व स्थानीय सरकार र प्रदेश सरकारले नगरेको जस्तो लाग्छ ।

Exit mobile version