हेटौँडाः बागमती प्रदेशको ४ जिल्लामा विभिन्न घटनामा ५ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, दोलखा, काभ्रे र नुवाकोटमा एकैदिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोल पम्पअगाडि मोटरसाइकल अनियन्त्रित भई पल्टँदा घाइते भएका मोटरसाइकलको पछाडि सवार पुरुषको मृत्यु भएको छ । सोमबार बेलुका ७ बजेको समयमा पेट्रोल पम्पअगाडि पूर्वपश्चिम राजमार्गमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा ९३ प ९३७० नम्बर मोटरसाइकल चालक हेटौँडा–१३ का ३१ वर्षीय प्रताप लामा र पछाडि सवार हेटौँडा–१३ कै ३२ वर्षीय राजकुमार घलान घाइते भएका थिए ।
घाइते दुबै जनालाई उपचारका लागि स्थानीय बकुलहर अस्पताल लगिएकोमा त्यहाँ सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा घलानको शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक लामा सोमबार डिस्चार्ज भएका छन् । अनुसन्धानको क्रममा लामा र घलानले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्लाको मेलुङ गाउँपालिका–७, सिस्नेरीमा एक जना वृद्ध मृत फेला परेका छन् । शोभा भुजेलको घरमा १६ वर्षदेखि बस्दै आएका नामथर नखुलेका सुनार बाजे भनी बोलाउने अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो २ बजेको समयमा आँगनको छेउमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्कापश्चात् शव पोष्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल, चरिकोट लगिएको छ ।
काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–४, चौबासमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा उदयपुर जिल्लाको गाईघाटका ४० वर्षीय सुमन बस्नेत रहेको प्रहरीले जानकारी दिएको छ । बस्नेत गत कात्तिक १२ गते चौबासस्थित ससुराली घरबाट हराएका थिए । बस्नेतलाई खोजतलास गर्दै जाँदा शुक्रबार बिहान ९ बनेको समयमा कागुनखोरिया सामुदायिक वनमा शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१, कागती गाउँमा ६५ वर्षीया मंगली बलामीको मृत्यु भएको छ । पुस ९ गते मंगलबार दिउँसो ४ बजेको समयमा बलामी अशक्त अवस्थामा फेला परेकी थिइन् । बलामीलाई टिचिङ अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि केएमसी अस्पताल सिनामंगल लगिएको थियो । उपचारको क्रममा बलामीको शुक्रबार साँझ ५ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
नुवाकोट जिल्लाकै ककनी गाउँपालिका–२, काउले हुलाकडाँडामा सडकमा लडेका ४४ वर्षीय सञ्जीव तामाङको मृत्यु भएको छ । गत पुस ११ गते बिहीबार तामाङ आफ्नै घर छेउको सडकमा लडी घाइते भएका थिए । तामाङको टिचिङ अस्पतालमा उपचारको क्रममा शुक्रबार राति १० बजेर २० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।