हेटौंडाः सम्भावित प्राकृतिक विपद्को घटनामा तत्काल उद्दार र आवश्यक सहयोगका लागि खटिन मकवानपुरको राक्सिराङ गाउँपालिकाले सबै वडामा स्वयम्सेवक परिचालन गरेको छ । गाउँपालिकाका ९ वटा वडामा ५ जनाका दरले ४५ जना स्वयम्सेवकलाई सोमबार एकदिने प्रशिक्षण दिई खटाइएको हो ।गाउँपालिका कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रमपछि उनीहरुलाई आवश्यक सुरक्षा सामाग्री हस्तान्तरण गरी वडामा पठाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।
टोलमा रहेका सक्रिय युवा मध्येबाट वडा कार्यालयको सिफारिसका आधारमा गाउँपालिकाले स्वयम्सेवकको रुपमा खटाएको हो । स्वयम्सेवक युवालाई टिसर्ट, टर्चलाइट, हातेआरो, स्टेचर, डोरी, बेल्चा, सुरक्षित कपडा, हेलमेटलगायतका सामाग्री गाउँपालिकाले प्रदान गरेको छ । उनीहरु गाउँमा हुनसक्ने प्राकृतिक प्रकोपको घटनामा उद्दार र आवश्यक सहयोगको लागि साउन र भदौ महिनाभर उच्च सतर्कताका साथ रहनेछन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईको अध्यक्षतामा भएको स्वयम्सेवक प्रशिक्षण तथा सामाग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेले स्वयम्सेवकहरुलाई प्रशिक्षण दिनुभएको थियो ।