हेटौंडाः किताबघर, हेटौंडाको आयोजनामा ‘बालबालिकासँग किताबका कुरा’ को दोस्रो श्रृंखला कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा–४, भैरव रोडमा रहेको किताबघरमा शुक्रबार किताबको कुराको दोस्रो श्रृंखला भएको हो ।
कार्यक्रममा स्मिता पारस खड्काको अमित विद्यार्थी हुडलहेडमाथि २ जना विद्यार्थीले परिचर्चा गरेका थिए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयबाट एक जना र संस्थागत विद्यालयबाट २ जना विद्यार्थीको सहभागिता रहेको थियो । हेटौंडा–४ स्थित नवोदय शिशु सदन बोर्डिङबाट आरोशी ढुंगाना, हेटौंडा–१८, हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनबाट विनया दहाल र हेटौंडा–१६, हटियास्थित जनप्रिय माध्यमिक विद्यालयबाट समृद्धि गौतमले अमित विद्यार्थी हुडहेडमाथि परिचर्चा गर्नुभएको हो ।
हेटौंडामा पठन संस्कृतिको विकासका गर्नका लागि किताब घरले विभिन्न प्रकारको शिक्षामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । हेटौंडाको सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई उक्त कार्यक्रमा सहभागी गराएर दोस्रो शृंखला सम्पन्न गर्न सफल भएको किताब घरका सञ्चालक छवि अनित्यले जानकारी दिनुभएको छ ।
किताब घरले हरेक महिनाको तेस्रो शुक्रबारको दिन बालबालिकासँग किताबको कुरा कार्यक्रम आयोजना गर्ने गरेको उहाँले बताउनुभयो । हेटौंडा–५ स्थित ज्ञानोदय आवासीय माध्यमिक विद्यालयसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको पनि सहभागिता रहेको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभागकी सदस्य शान्तिप्रिय बन्दनाले किताब वार्तामा प्रस्तुतिकरण गरेका ३ जना विद्यार्थीलाई प्रशंसापत्र हस्तान्तरण गर्नुभएको थियो । सञ्चालक अनित्यको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा वक्ताको रुपमा सहभागी भएका विद्यार्थीले महिलाको रजस्वलाको समयमा हुने पीडा र समस्याको बारेमा किताबमा बुझाइएको बताएका छन् । उक्त पुस्तक महिलाले मात्र नभई घरपरिवार र पुरुषले पनि अध्ययन गर्न जरुरी रहेको उनीहरुले धारणा राखेका थिए । किताबको अध्ययन गरेपछि महिलाले रजस्वलाको बारेमा खुलेर बताउन सक्ने वातावरणको सिर्जना हुने विश्वास गरिएको उनीहरुको भनाइ छ ।