मनहरी गाउँपालिका–३ स्थित प्रजा आधारभूत विद्यालयमा अभिभावक सचेतना कार्यक्रममा सहभागी अभिभावकहरु ।

हेटौंडाः बुधबारदेखि मकवानपुरको मनहरी गाउँपालिकाले विद्यालयमा अध्ययनरत् विद्यार्थीको अभिभावकलाई सचेतना कार्यक्रम सुरु गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार भन्ने उद्देश्यले सुरु गरिएको सचेतना कार्यक्रममा पहिलो दिन ८३ जना अभिभावक सहभागी भएका छन् ।

करिब एक सय अभिभावकलाई बोलाएको भए पनि १७ जना अभिभावक कार्यक्रममा सहभागी नभएको मनहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो । पहिलो दिन बिहान ११ बजेबाट जनज्योति आधारभूत विद्यालयमा अभिभावकलाई सचेतना दिएको उहाँले बताउनुभयो । कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै अभिभावक विवेक घलानले बालबालिकाको भविष्यप्रति चिन्ता लिने प्रतिबद्धता जनाउनुभयो । सचेतना कार्यक्रमलाई पालिकाले निरन्तरता दिन सके मात्र कार्यक्रमले सार्थकता पाउने उहाँको भनाइ छ ।

बिहीबार प्रजा आधारभूत विद्यालयमा सचेतना कार्यक्रम भएको छ । तेस्रो दिन शुक्रबार पशुपतिनाथ माध्यमिक विद्यालयमा अभिभावकलाई सचेतना दिइँदैछ । यस्तै, पुस २० गते ब्रम्हकाली आधारभूत विद्यालय, २१ गते रािष्ट्रय माध्यमिक विद्यालय, २२ गते राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, २३ गते सगरमाथा आधारभूत विद्यालयमा कार्यक्रम हुने गाउँपालिकाको शिक्षा शाखा प्रमुख पराजुलीले बताउनुभयो । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालय छन् । जसमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत् छन् ।