हेटौँडा ः मकवानपुर उद्योग वाणिज्य संघमा झण्डै ८ सय उद्योगी, व्यवसायी घटेका छन् । ३ वर्षअघि सम्पन्न साधारणसभाको तुलना आसन्न साधारणसभामा नवीकरण भएका उद्योगी, व्यवसायीको संख्यालाई हेर्दा झण्डै ८ सयको संख्यामा उद्योगी व्यवसायी घटेको पाइएको हो । पुस ९ गतेसम्म नवीकरणका लागि समय दिइएकोमा २ हजार ९२ जना उद्योगी, व्यवसायीले सदस्यता नवीकरण गराएका छन् ।

३ वर्षअघि सम्पन्न साधारणसभामा २ हजार ९ सय ७ वटा उद्यमी, व्यवसायी सदस्य थिए । यही पुस २४ गते मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा हुँदैछ । साधारणभाले नयाँ समिति समेत चयन गर्नेछ । नवीकरण भएका मध्ये पनि केही कारोबार शून्य भएका उद्यम, व्यवसायको फर्म भएको बताइएको छ । उद्यमी, व्यवसायी चरम समस्यामा परेका बेला मकवानपुर उद्योग वाणिज्य संघको आसन्न साधारणसभामा उद्यमी, व्यवसायीको वास्तविक समस्याका विषयमा साधारणसभामा छलफल र निर्णय हुनेमा सदस्य व्यवसायीले सकारात्मक अपेक्षा राखेका छैनन् ।

आसन्न साधारणसभामा चुनावी सरगर्मी बढेको छ । पुस २४–२७ गतेसम्म हुने साधारणसभाले मकवानपुरका उद्योगी व्यवसायी बीच चुनावी माहोल बढाएको हो । २०८१ बैशाख १६ मा सम्पन्न संघको विशेष साधारण सभाले विधान संशोधन गरी सम्पूर्ण पदहरु प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ । साधारणसभा संघको एक अध्यक्षसहित एक वरिष्ठ उपाध्यक्ष, विधागत उपाध्यक्ष महासचिव, कोषाध्यक्ष, सचिव पद प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको छ ।

संघको विधान २०५१ को बाह्रौं संशोधनको परिषद् ५ को व्यवस्था अनुसार निर्वाचनबाट महासचिव, कोषाध्यक्ष एक/एक जना, सचिव ४ जना, सह–कोषाध्यक्ष र सदस्यहरु विधानले तोके बमोजिमको संख्या रहने व्यवस्था गरिएको छ भने २ जना सदस्यहरु मनोनित हुने व्यवस्था विधानमा रहेको छ ।

कार्यसमितिका लागि गोप्य मतदान प्रक्रियाद्वारा साधारण, एशोसिएट, आजीवन र वस्तुगत सदस्यहरुमध्येबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष (महिला आरक्षण) को निर्वाचन गर्नेछ । संघका प्रमुख कार्यकारी निर्देशक सुजन सुवेदीका अनुसार निर्वाचनका लागि एशोसियट क्षेत्रबाट एक जना बहुराष्ट्रिय कम्पनी र हेटौंडा औद्योगिक क्षेत्रभित्रका एक जना अनिवार्यसहित ४ जना, वाणिज्य क्षेत्रबाट २ जना महिला र क्षेत्रगत आरक्षणको रुपमा पश्चिम क्षेत्र समिति, मनहरीबाट एक जनासहित ७ जना, उद्योग क्षेत्रबाट एक जना महिला सहित ४ जना सदस्य निर्वाचित हुने विधानको व्यवस्था रहेको छ ।

त्यस्तै वस्तुगत संघमा ७ सदस्य भएमा एक जना सदस्य, १४ जना भएमा एक/एक जना सदस्य र सचिव र २१ जना भएमा एक/एक जना उपाध्यक्ष, सचिव र सदस्य हुने व्यवस्था रहेको सुवेदीले बताउनुभयो । निर्वाचनका लागि कार्यसमितिको कुल सदस्य संख्या क्षेत्रगत समितिहरुको सदस्य संख्याले निर्धारण गर्ने उहाँले बताउनुभयो ।