हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले विभिन्न प्रतियोगिताहरु आयोजना गरेको छ । संघको २० औं स्थापना दिवसको अवसरमा निबन्ध, वक्तृत्वकला र हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
हेटौंडा–२, शान्तिपथस्थित संघको कार्यालय परिसरमा सञ्चालन भइरहेको सहकारी तथा सहकारी सदस्यहरुद्वारा उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री मेलासँगै विभिन्न प्रतियोगिता गरेको हो । ३ दिनसम्म सञ्चालन हुने मेलाको पहिलो दिन मंगलबार हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।
हाजिरीजवाफ प्रतियोगितामा सृजनशील समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मकवानपुरगढी–४ का सन्देश परियार, निलम पाख्रिन र विजयकुमार चौलागाईँको समूह प्रथम भएको छ । हेटौंडा उपमहानगरपालिका–७ स्थित हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निश्चल भट्ट, रीता पौडेल र रोजिता दंगालको समूह द्वितीय भएको छ ।
हाजिरीजवाफमा हेटौंडा–२ को हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको मनोज दहाल, बसन्ती मैनाली र निशान सापकोटाको समूह तृतीय हुन सफल भएको छ । जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मकवानपुरगढी–३ को मेनुका दाहाल, पवित्रा भट्टराई र सुमित्रा दुलालको समूह सान्त्वना भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल समूहलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
यस्तै, दोस्रो दिन बुधबार निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । निबन्ध प्रतियोगितामा हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा अध्ययनरत छात्रा प्रतिमा भट्टराई प्रथम, हेटौंडा–१३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसमा अध्ययनरत् छात्रा रेश्मा श्रेष्ठ द्वितीय, हेटौंडा स्कूल अफ म्यानेजमेन्टकै शालिना धिताल तृतीय र हेटौंडा-२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत् छात्रा जमुना थिङ सान्त्वना हुन सफल भएकी छिन् ।
वक्तृत्वकला प्रतियोगितामा साइराम बचत तथा ऋण सहकारी संस्थाका डीबी बर्तौला प्रथम, जागरण बचत तथा ऋण सहकारी संस्थाकी सरिता विश्वकर्मा द्वितीय भएका छन् । मनहरी बचत तथा ऋण सहकारी संस्थाका बलराम बानियाँ तृतीय र सृजनशील समाज बचत तथा ऋण सहकारी संस्थाका सर्कलाल लो सान्त्वना हुन सफल भएका छन् ।
निबन्ध प्रतियोगितामा ४ वटा क्याम्पसका ८ जना विद्यार्थी सहभागी भएका छन् । वक्तृत्वकला प्रतियोगितामा ११ वटा सहकारी संस्था र हाजिरीजवाफ प्रतियोगितामा १० वटा सहकारी संस्थाले सहभागिता जनाएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा पुरस्कार वितरण गरिएको हो ।