फाइनल पुगेको दोलखाको टिम ।

हेटौंडाः दोलखा जिल्लाको टाइगर टिम तिखाताल हेटौंडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लुअल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

दोलखाको जीतमा मिलन श्रेष्ठले पहिलो हाफको ३१ मिनेटमा गोल गर्दै पहिलो अग्रता दिलाएका थिए । दोस्रो हाफको ५६ मिनेटमा सिन्धुलीको तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई १÷१ गोलको बाराबरीको स्थितिमा र्पुयाएका थिए । दोलखाका शम्भुजन श्रेष्ठले दोस्रो हाफको ६४ मिनेटमा गोल गर्दै टिमलाई जीत दिलाएका हुन् ।

खेलको म्यान अफ द म्याच घोषित हुँदै दोलखाका उत्तम खत्रीले ३ हजार रुपैयाँ नगद पुरस्कार तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत आज बिहीबार सेमिफाइनल चरणको अन्तिम खेलमा ललितपुर फुटबल क्लब र काठमाडौंको चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । बिहीबारको खेलको विजेता टिमले शनिबार हुने फाइनल खेलमा उपाधिका लागि दोलखाको टिमको सामना गर्नुपर्नेछ ।

प्रतियोगिता ११ जिल्लाको लिग विजेता टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको सहयोगमा पुस १० गतेबाट सुरु भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको छ ।