सहकारीको उत्पादन प्रदर्शनी तथा बिक्री मेलामा राखिएको स्टलको तस्वीर ।

हेटौंडाः मंगलबारदेखि जिल्ला बचत तथा ऋण सहकारी संस्था मकवानपुरको २० औं स्थापना दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा सहकारी तथा सहकारी सेयर सदस्यद्वारा उत्पादित वस्तु प्रदर्शनी तथा बिक्री मेला सुरु भएको छ । ‘सहकारीमा सुशासनः प्रविधि र एकीकरणसँगै उत्पादन, बजारीकरण तथा लगानीको आधारः उद्यम प्रवद्र्वन हाम्रो पूर्वाधार’ भन्ने नारासहित तीन दिने मेला सुरु भएको हो ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता तथा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकारले पनि नीति तथा नियम बनाएर नियमन गर्ने प्रतिबद्वता जनाउनुभयो ।
समुदायमा आधारित नभई व्यक्तिमा आधारित रहेर सहकारी संस्था सञ्चालन गर्दा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणका लागि प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता मन्त्री श्रेष्ठले जनाउनुभयो ।

मेलामा सहकारीहरुले उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्रीसहितका ४३ स्टल राखिएका छन् । मेला १० हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । बागमती प्रदेशको उद्योगमन्त्री सुकुमाया तामाङले यस्ता प्रदर्शनी र मेलाले उद्यमीहरूलाई उत्साह प्रदान गर्ने बताउनुभयो ।

जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठले भन्नुभयो, ‘यो मेलाबाट सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास हामीले लिएका छौं ।’ मकवानपुरको विकट राक्सिराङमा उत्पादन भएका वस्तुदेखि सिन्धुलीमा उत्पादन भएका वस्तुहरु बिहीबासम्म प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।