हेटौंडाः प्रेस स्वतन्त्रता हननको घटना वृद्धि भएको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण गराएको छ । विगत वर्षको तुलनामा यस वर्ष सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएकाले पत्रकार महासंघ केन्द्रीय समितिले ध्यानाकर्षण गराएको हो ।
महासंघ केन्द्रीय समितिका महासचिव रामप्रसाद दहालले विज्ञप्ति जारी गर्नुहुँदै समाचार लेख्दा र सूचना माग्दा पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रता यसवर्ष चुनौतीपूर्ण रहेको जानकारी गराउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ कैलालीका सहसचिव सुरेश भुलको हत्या भएको घटनाको प्रारम्भिक रिपोर्ट हेर्दा उक्त घटना लक्षित हत्या भएको देखिएको विज्ञप्तिमा भनिएको छ ।
समाचार लेखेकै कारण ज्यान लिनेसम्को धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासंघले मिडिया मिसन खटाउनु परेको विज्ञप्तिमा उल्लेख छ । समाचार लेखेकै कारण राज्यको नेतृत्व तहमा रहेका तथा जनताको प्रतिनिधि भनिएकाबाट पत्रकारमाथि भएको धम्की, धरपकड तथा दुव्र्यवहारका घटना अत्यन्त निन्दनीय लोकतन्त्रमाथिकै प्रहार भएको महासंघले आरोप लगाएको छ ।
नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएको विज्ञप्तिमा उल्लेख छ । विगतका वर्षको तुलनामा यस वर्ष प्रेस स्वतन्त्रता हननका घटना वृद्धि भएको बताइएको छ । सन् २०२३ मा प्रेस स्वतन्त्रता हननका ५८ र सन् २०२२ मा ५३ वटा घटना अभिलेख भएकोमा यस वर्ष प्रेस स्वतन्त्रता हननका ६० वटा घटना हँुदा ३४ जना पत्रकार महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भएको महासचिव दहालले बताउनुभयो । घटनाबाट १३ वटा सञ्चार संस्था प्रभावित भएको बताइएको छ ।
सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाअनुसारको प्रेससम्बन्धी कानुन पाउन नसकेको बताइएको छ । लामो सयमदेखि प्रतीक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाएकाले सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको बताइएको छ ।
महासंघले विगतदेखि नै सञ्चारसम्बन्धी कानुनलाई व्यवस्थित गर्न र संविधानको मर्मअनुसार कानुन निर्माण गर्न सरकारलाई आग्रह गर्दै आएको विज्ञप्तिमा उल्लेख गरिएको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको भौतिक तथा व्यावसायिक सुरक्षामा प्रतिबद्ध रहेको दावी गरिएको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनामा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महासंघले सरकारसँग जोडदार माग गरेको छ । सरकारले ल्याउने प्रेससम्बन्धी कानुन, प्रेस स्वतन्त्रताका विश्वव्यापी मान्यता र हाम्रा संवैधानिक प्रावधानका आधारमा मिडियामैत्री बनाउन अनुरोध गरिएको छ ।