हेटौंडाः हेटौंडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार सेमिफाइनल चरणको १ खेल हुँदैछ । हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा दोस्रो संस्करणको प्रदेश लिग फुटबल प्रतियोगितामा फाइनल प्रवेशका लागि समूह ‘ख’बाट सिन्धुली जिल्लाको ब्लु अल्पाइन क्लब र दोलखाको टाइगर टिम तिखातालबीच प्रतिस्पर्धा हुनेछ ।

बुधबार खेलमा जीत निकाल्ने टिमले फाइनलको यात्रा पूरा गर्नेछन् । बिहीबार हुने अन्तिम सेमिफाइनल खेलमा काठमाडौंको चित्लाङ फुटबल क्लब र ललितपुर फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमहरुको सहभागिता रहेको छ ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा धादिङको धुनिबेसी युथ समाजलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुर फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो भने सोमबारै भएको पहिलो खेलमा सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै सिन्धुलीको ब्लु अल्पाइन फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणको खेलमा सिन्धुली, दोलखा, भक्तपुर र काठमाडौंले दुई खेलहरुमा जीत निकालेर ६ अंक जोड्दै सेमिफाइनलको यात्रा पूरा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्य सहयोगमा सञ्चालन भएको प्रतियोगितामा प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहने छ । यस वर्षको प्रदेश लिग फुटबल प्रतियोगिता हेटौंडामा आयोजना गरिएको हो भने गत वर्ष पहिलो संस्करणको प्रतियोगिता नुवाकोट जिल्लामा भएको थियो ।

प्रतियोगितामा मकवानपुरको पदमपोखरी युथ क्लब, काठमाडौंको चित्लाङ फुटबल क्लब, सिन्धुलीको ब्लु अल्पाइन क्लब, दोलखाको टाइगर टिम तिखालाल, धादिङको धुनिबेसी युवा समाज, नुवाकोटको बटार युथ क्लब, सिन्धुपाल्चोकको चौतारा स्पोर्टस् क्लब, चितवनको बिएफसी क्लब, ललितपुर र काभ्रेको माउण्ट एभरेष्ट फुटबल क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता सम्पन्न गर्नका लागि ३१ लाख रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म र्पुयाउन, खेलाडी उत्पादनमा जोड दिन, खेलाडीको विकासमा टेवा र्पुयाउन, खेलको महत्वबारे बुझाउनका लागि प्रतियोगिता आयोजना गरिएको बताइएको छ । प्रतियोगितामा रसुवा र रामेछाप जिल्लाको टिम सहभागी भएका छैनन् । अखिल नेपाल फुटबल संघ (एन्फा) मा यी दुई जिल्लाका फुटबल क्लबहरु आवद्ध नभएका कारण दुबै जिल्लाका क्लब सहभागी हुन नपाएको प्रदेश फुटबल संघले जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते शनिबार हुनेछ ।