हेटौंडाः आज बुधबारबाट नयाँ वर्ष सन् २०२५ सुरु भएको छ । अंग्रेजी वर्षसमेत भनिने ईस्वी सम्वत् (सन्) २०२५ को आज बुधबार पहिलो दिनलाई विश्वभर नयाँ वर्षको रुपमा मनाइने गरिएको छ ।

ग्रेगोरियन पात्रोअनुसार आजबाट सन् २०२४ लाई बिदाई गर्दै नयाँ वर्ष २०२५ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरमा विश्वभर विभिन्न देशमा विभिन्न प्रकारका सांस्कृतिक लगायतका कार्यक्रहरुको आयोजना गर्दै उल्लासपूर्वक नयाँ वर्ष मनाइँदैछ । इसाइ धर्मावलम्बीहरुले परमेश्वर मान्ने येशू क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) को सुरुवात गरेको मान्यता छ ।

नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुलाई सम्झदै अंगुरको रस र रोटी खाने प्रचलन रहँदै आएको बताइएको छ । पर्यटकको भीडभाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरा, चितवन, रामेछाप र बागमती प्रदेशको राजधानी हेटौंडालगायत स्थानमा ‘न्यू इयर इभ’ नाम दिएर विविध कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्वसको आयोजना गरिएको बताइएको छ । अन्तर्राष्ट्रिय सम्वत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।