मेलमिलाप कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेस नेता इन्द्रबहादुर बानियाँ ।

हेटौँडा ः नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले अहिलेको सरकार टिकेन भने व्यवस्था नटिक्ने बताउनुभएको छ । उहाँले एमाले–कांग्रेस गठबन्धनको वर्तमान सरकार बलियो जगमा उभिएको बताउनुभयो ।

४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरद्वारा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभापति बानियाँले कसैको पद जोगाउन अहिलेको गठबन्धन नगरिएको बताउनुभयो । सुशासन, विकास र समृद्धिका लागि वर्तमान गठबन्धनको सरकार बनेको उहाँको भनाई छ । जनतालाई डेलिभरी दिन यो सरकार बनेको दावी गर्नुहुँदै सरकार जिम्मेवार, जवाफदेही बनेर युवा पलायन रोक्न, रोजगारी सृजना, उत्पादन र उत्पादकत्व बढाउने विषयमा काम गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकारले नराम्रो नगरेको तर, नागरिकमा आशा जगाउन पनि नसकेको उहाँको भनाई छ ।

वर्तमान व्यवस्था जोगाउन एमाले–कांग्रेसको गठबन्धन बनेको सभापति बानियाँले जीकिर गर्नुभयो । नागरिकहरुका लागि गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु हुन नसक्ने उल्लेख गर्नुहुँदै नेता बानियाँले देशमा अहिले २ थरीका व्यक्तिहरु रहेको, केही व्यक्ति कुरा बेचिरहेको र केही व्यक्तिहरु काम बेच्ने काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार काम गर्नेलाई समस्या नहुने तर, कुरा बेच्नेहरु जेल जान परिरहेको छ ।

देश मिलाउन सक्ने क्षमता राख्ने कांग्रेस आन्तरिक विवादमा अल्झिएको बताउनुहुँदै कांग्रेसको आन्तरिक विवाद समाधान नहुँदा पार्टीलाई क्षति पुगिरहेको स्वीकार्नुभयो । पार्टीका सम्बन्धित समितिमा रहेका असन्तुष्टिका विषयमा छलफल गरी एजेन्डा निर्माण गर्नुपर्ने बानियाँले बताउनुभयो । ‘कांग्रेस आन्तरिक विवादमा फसेको छ । कांग्रेसले देश मिलाउने क्षमता राख्छ । तर, पार्टी मिलाउन सकेन । कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया, संविधान निर्माण, प्रजातन्त्रका सवालमा सबै दलहरु एक हुन सक्छन् । तर पार्टीका आन्तरिक विषयमा एक हुन सकिरहेको छैन ।’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता बानियाँले भन्नुभयो, ‘आगामी महाधिवेशनमा मैले महामन्त्रीको उम्मेदवारीको तयारी गरेको छैन । मलाई उम्मेदवारको रुपमा व्याख्या गरिएको प्रति आपत्ति छ । मलाई कांग्रेस बलियो बनाउन पद चाहिन्न । म कांग्रेस बलियो बनाउन काममा सक्रिय छु ।’