हेटौंडा ः सिन्धुली जिल्लाको ब्लु अल्पाईन फुटबल क्लबले जीत निकाल्दै हेटौँडामा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको समूह चरणको खेलमा समूह ‘ख’ बाट दोस्रो जीत निकालेको सिन्धुलीको ब्लु अल्पाईन फुटबल क्लबले ६ अंक जोडेर सेमीफाइनलको यात्रा तय गरेको हो । सिन्धुलीको ब्लु अल्पाईन क्लबले सिन्धुपाल्चोकको चौतारा स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

सिन्धुलीको तर्फबाट पहिलो हाफको १६ औँ मिनेटमा गोल गर्दै प्रविन महतराले टिमलाई अग्रता दिलाएका थिए । खेलको ३० औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै निर्दोष थिङले अग्रतालाई बढाएका थिए । यता सिन्धुपाल्चोकबाट टिम क्याप्टेन भीम बहादुर गुरुङले पेनाल्टीको सुनौंलो अवसर प्राप्त गरेर गोल गरेपनि टिमलाई हारबाट जोगाउन भने सकेनन् । यसअघि शनिबार भएको खेलमा सिन्धुपाल्चोकले भक्तपुर जिल्लाको थिमी युथ क्लबलाई ४–२ गोलले हराएको थियो । समूह चरणका तीन खेलमध्ये २ हार र एक जित निकाल्दै ३ अंक जोडेको सिन्धुपाल्चोक समूह चरणबाटै बाहिरिएको छ ।

प्रतियोगिता अन्तर्गत सोमबार नै समूह चरणको अन्तिम खेलमा ललितपुरको ललितपुर फुटबल क्लब र धादिङको धुनीवेसी युवा समाजबीच प्रतिस्पर्धा भइरहेको छ । सोमबारको दोस्रो खेल सम्पन्न भएसँगै सेमीफाइनलमा पुग्ने टिमको टुंगो लाग्ने छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ जिल्लाको लिग विजेता टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।