सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरमा बोलेरो पिकअप गाडी दुर्घटनामा गम्भीर घाइते भएका कैलाश गाउँपालिका–३ का ५६ वर्षीय शान्तबहादुर गोम्बाको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार दिउँसो २ बजेर ३० मिनेटको समयमा ब्रेक फेल भएर दुर्घटना हुँदा बोलेरो धनी गोम्बाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मनहरीबाट कैलाश गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१–००१ च २९४६ नम्बरको बोलेरो दुर्घटनामा गम्भीर घाइते भएका गोम्बाको उपचारको क्रममा मनहरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । बोलेरोमा ८ जना सवार थिए । बोलेरोमा सवार ७ जनाको अवस्था सामान्य रहेको र बलेरो चालकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।