हेटौँडा ः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयमा अध्ययरत विद्यार्थीको छात्रवृत्तिका लागि सहयोग गरेका छन् । आइतबार विद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा अंग्रेजी माध्यममा अध्ययनरत ७ जना विद्यार्थीको छात्रवृत्ति रकमस्वरुप ४९ हजार रुपैयाँ सहयोग गरिएको हो ।
२०५२ सालको एसएलसी समूहका सदस्य किशोर पराजुलीको नेतृत्वमा प्रतिमा श्रेष्ठ र माधव खतिवडाले संयुक्तरुपमा विद्यालयका प्रधानाध्यापक श्रीराम दहाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो । विद्यालयमा अंग्रेजी माध्यममा अध्ययनरत विद्यार्थीको शिक्षा निरन्तर रहोस् भनी सहयोग गरिएको पराजुलीले बताउनुभयो । विद्यालयले पूर्वविद्यार्थी समेतको सहयोगमा अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषमा ३ लाख रुपैयाँ रकम पुगिसकेको प्रधानाध्यापक दहालले जानकारी दिनुभयो । श्रमिक माविमा ६४४ जना विद्यार्थी अध्ययनरत छन् ।