हेटौँडा ः धादिङ जिल्लामा बाटोमा हिँडिरहेको अवस्थामा एक पुरुषको मृत्यु भएको छ भने राजमार्गमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । धादिङको नेत्रावति गाउँपालिका–१, बोराङ रामगौडा बाटोमा हिँडिरहेका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१० ज्यामरुङ घर भई हाल त्रिपुरा सुन्दरी गाउँपालिका–४, कार्कीगाउँका ६५ वर्षीय गोपी नेपाली रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
नेपाली शनिबार राती ११ बजेर २० मिनेटको समयमा बोराङ साथी जित बहादुर बागदास (परियार) को घर जाने क्रममा अचानक बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । धादिङको कालुपाण्डे राजमार्ग छेउमा रहेको नालामा एक जना पुरुष मृत फेला परेका छन् । शनिबार बिहान ९ बजेको समयमा भेटिएको शवको सनाखत हुन सकेको छैन । तराई मूलको जस्तो देखिने अन्दाजी ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धादिङबेशी लगिएको प्रहरीले जानकारी दिएको छ ।