हेटौंडाः बागमती प्रदेशको आइतबारको बैठकले प्रदेश प्रहरी सेवा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । आइतबार भएको बैठकमा सो विधेयक पारित भएको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश सभाको आइतबारकोे बैठकको विशेष समयमा ३६ जना सांसदहरुले बोल्नुभएको छ ।
बैठकमा बोल्नुहुँदै सांसद राजेन्द्र पाण्डेले १३ जिल्लामा प्रदेशको समन्वय गर्न सक्ने निकाय अर्थात प्रदेश समन्वय कार्यालय छिट्टो भन्दा छिटो स्थापना गर्न माग गर्नुभएको छ । बजेट वक्तव्यमा धेरै कार्यविधि बनाएर काम गर्नुपर्ने हुँदा समयमै कार्यविधि बनाउन उहाँले ध्यानाकर्षण गर्नुभएको छ । कार्यविधि बनाउँदा बनाउँदै चैत्र लाग्ने, ठेक्कापट्टा बैशाखमा लाग्ने र समय अपुग भएर बजेट फ्रिज हुने अवस्था आउन नदिन उहाँले सरकारको ध्यानाकर्षण गर्नुभएको छ । समयमै योजनाहरु सम्पन्न गर्न चालु वर्षदेखि कामको क्यालेण्डर बनाएर काम गर्न पाण्डेले सुझाव दिनुभयो । उहाँले बागमती प्रदेश सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना कारण सम्पन्न नभएका योजनाका लागि म्याद थप गर्न तत्काल निर्णय गर्नुपर्ने बताउनुभयो । यस्तै निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कार्यक्रमको कार्यविधि संशोधन गरेर घटिमा ५ लाखको योजना बनाउन मिल्ने व्यवस्था गनुपर्ने बताउनुभयो । उहाँले केन्द्र सरकारले व्यवस्था गरेको कानुनी व्यवस्थालाई पालना गरेर बागमती प्रदेश सरकारले १ करोडसम्मको योजना उपभोक्ता समिति मार्फत गर्न दिनुपर्ने बताउनुभयो ।
सांसद कृष्णलाल भँडेलले सरकारको बजेट समयमा कार्यान्वयन हुन नसक्दा चाँगुनारायणको वडा नम्बर ४ को तामाङ गाउँ, वडा नम्बर ५ को लामिछाने गाउँ, वडा नम्बर ९ को पराजुली बस्तीमा पहिरो जाँदा त्यहाँका नागरिकहरु अन्यत्र सरेर बस्नुपरेको बताउनुभयो । उहाँले आफ्नो घर र जग्गा बचाउन काम हुन नसकेर फिर्ता भएका बजेटलाई निरन्तरता दिन आग्रह गर्नुभयो । भक्तपुरमा रहेका प्राचिन साँस्कृतिक मन्दिरहरुको मर्मत सम्भार गर्न बजेट छुट्टाउन पनि उहाँले आग्रह गर्नुभयो । सांसद निमा लामाले सिन्धुपाल्चोकमा बाढी र पहिरोबाट बेपत्ताहरुको खोजी कार्य गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुरेन्द्रराज गोसाईले शिक्षकको समस्यामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षक २÷४ जनाले आत्महत्या गरुन् भनेर प्रदेश सरकार बसेको हो कि भने प्रश्न समेत गर्नुभएको छ । उहाँले समाजवादी सरकारसँग हिम्मत भए राष्ट्रका सबै विद्यालयलाई राष्ट्रियकरण गर्न चुनौति दिनुभयो । बैठकमा बोल्नुहुँदै सांसद शशीजंग थापाले कोरोना भाइरस (कोभिड–१९) को विषम् परिस्थतिमा सेनिटाइजरको नाममा बजारमा लुट भएको बताउनुभयो । नेपालमा यत्रतत्र पाइने ह्यान्ड सेनिटाइजरको गुणस्तर परीक्षण भए नभएको निक्र्यौल हुुनुपर्ने बताउनुभयो । उहाँले रामको जन्म भारतको अयोध्यामा नभएर नेपालको अयोध्या ठोरीमा भएको प्रधानमन्त्रीको अभिव्यक्तिले सिंगो नेपाली जनताले गर्वको अनुभूति गर्न पाएको बताउनुभयो । पुरातात्व विद्हरुले यसबारे अनुसन्धान गर्न थालेकामा उहाँले प्रधानमन्त्रीलाई धन्यवाद दिनुभएको छ ।
सांसद रिता माझीले ललितपुरको खोकनाका आदीवासी जनजातिहरुको निम्ति सांसदले बोल्दा पनि बागमती प्रदेश सरकारबाट पहलकदमी नभएको भन्दै प्रदेश सरकारले संघीय सरकारसँग सहकार्य गर्दै उचित व्यवस्थापन गर्न माग गर्नुभयो । त्यस्तै मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा भएको दुर्घटनाप्रति प्रदेश संसदीय समिति गठन गरी छानविन गर्न माग गर्नुभयो ।
बागमती प्रदेश अन्तर्गत पर्ने पशुपति क्षेत्र विकास कोषले गूरुयोजनाको नाममा पुरै मानव बस्ती खाली गर्ने अवधारणा ल्याएकोमा प्रदेश सांसद नरोत्तम वैद्यले विरोध गर्नुभएको छ । नेपाल सरकारले गूरुयोजनालाई अनुमोदन गरिसकेपछि पशुपति क्षेत्र विकास निर्माणको, पूर्वाधार र पदमार्गको नाममा बस्ती पुरै खाली हुने सांसद वैद्यले बताउनुभयो । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश अन्तर्गत पर्ने भएका कारण यसबारे चासो दिन सांसद वैद्यले माग गर्नुभयो । उहाँले प्रदेश सरकारले संघीय सरकारसँग वार्ता गरेर पशुपतिको गूरुयोजना पनि हुने र पुरै बस्ती पनि खाली नहुने गरी सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले गूरुयोजना पास हुन नदिन र सहमतिमा यसलाई टुंग्याउन आग्रह गर्नुभयो । सांसद बिराजभक्त श्रेष्ठ पशुपतिको गुरुयोजनामा स्थानीय तह र सम्बन्धित व्यक्तिहरुसँग छलफल नगरेमा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।
सांसद ओम ग्लानले तीनै तहका सरकारले कुनै विलम्ब नगरी विद्यालय र पठनपाठन सुचारु गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा सदन, सार्वजनिक यातायात, बजारमा भीडभाड भएको भन्दै विद्यालय सुचारु गरी भोलीका कर्णधार विद्यार्थीको भविष्य सुनिश्चित गर्न माग गर्नुभयो । सांसद बलराम पौडेलले छिट्टो भन्दा छिट्टो विद्यालयहरु खुल्नुपर्नेमा जोड दिनुभयो । उहाँले ९८ करोड प्रदेशको बेरुजु निस्केको भन्दै त्यसको विवरण सदनमा सार्वजनिक गर्न माग गर्नुभयो ।
त्यस्तै आइतबार सांसदहरु राजकाजी महर्जन, रमेश पौडेल, इन्द्रमाया गुरुङ, गीता वाग्ले, जीवन खड्का, रिना गुरुङ, शोभा शाक्य, केशवप्रसाद पोखरेल, नारायण बहादुर सिलवाल, न्हूच्छेनारायण श्रेष्ठ, विशाल खड्का, कल्पना नेपाली, रामलाल महत्तो, कृष्णप्रसाद भूर्तेल, सीता लामा, सिर्जना सायँजू, घनश्याम दाहाल, रजनी अमात्य, मिना ज्ञवाली, भीमसेन खत्री, सरेश नेपाल, मिलनबाबु श्रेष्ठ, रमा आले मगर, जगत बहादुर सिम्खडा, पार्वती सिलवाल, राधा घले, देवकी श्रेष्ठ, मैना अछामी लगायतले बोल्नुभएको थियो ।