कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री बहादुरसिंह लामा ।

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले जनप्रतिनिधिको काम प्रभावकारी नहुँदा नागरिकमा नैराश्यता पैदा भएको बताउनुभएको छ । उहाँले योजना छनौट, बजेट कार्यक्रम कार्यान्वयन र विकास निर्माणको काम सही ढंगबाट हुन नसक्दा नागरिकहरुमा वितृष्णा पैदा भएको उहाँले बताउनुभयो ।

हेटौँडामा बुधबार आयोजित एक कार्यक्रममा आयोजना बैंक व्यवस्थापन तथा कार्यआरम्भ उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री लामाले योजना छनौट तथा बजेट विनियोजन व्यवस्थित नहुँदा विकास निर्माणको काम अस्तव्यस्त हुन पुगेको बताउनुभयो । उहाँले बजेट कार्यक्रमको त्रुटिलाई प्रविधिमार्फत् व्यवस्थापन गर्न आयोजना बैंक निर्माण तथा संचालनमा सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । प्रदेश सरकारको बजेट कार्यक्रममा नागरिकको सहभागिता बढाउन आयोजना बैंक संचालन गरिएको उहाँको भनाई छ । आयोजना बैंकले सरकारको बजेट विनियोजनलाई व्यवस्थित गर्नुको साथै योजनालाई अद्यावधिक गर्ने भएकाले कार्य सहजता हुने मुख्यमन्त्री लामाले दावी गर्नुभयो ।

सुशासन र पारदर्शीताको सवालमा महत्वपूर्ण उपलब्धी हासिल हुने भएकाले आयोजना बैंक कार्यान्वयन गर्नु सरकारको प्राथमिकताको विषय बनेको उहाँले बताउनुभयो । स्थानीय तहको समन्वयमा प्रदेशको ६६ वटा निर्वाचन क्षेत्रमा विशेष कार्यक्रम संचालन गर्नेगरी अघि बढ्न जरुरी रहेको मुख्यमन्त्री लामाको भनाई छ ।