सांकेतिक तस्वीर ।

हेटौंडाः बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन ५ जनाको मृत्यु भएको छ । प्रदेशको धादिङ, नुवाकोट र सिन्धुलीमा एकैदिन ५ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको हो ।

धादिङ जिल्लाको गजुरी गाउँपालिका–२, चालिसेमा मोटरसाइकलको ठक्करबाट घाइते पैदल यात्रीको उपचारको क्रममा मृत्यु भएको छ । आइतबार बेलुका ७ बजेर ३५ मिनेटको समयमा चालिसेस्थित पृथ्वी लोकमार्गमा गजुरीबाट फुर्केखोलातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ७५०५ नम्बरको मोटरसाइकलको ठक्करबाट रामेछाप घर भई सडकमा काम गर्ने ४९ वर्षीय धर्म लामा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट लामासहित चालक सिद्धलेख गाउँपालिका–६ का २६ वर्षीय सुजन रोक्का घाइते भएका थिए । पैदल यात्री लामालाई गजुरी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि मेडिसिटी अस्पताल काठमाडौंमा लगिएको थियो भने चालक रोक्कालाई मलेखु टिचिङमा सामान्य उपचारपश्चात् ओम साईबाबा अस्पताल ढुङ्गेधारा काठमाडौं लगिएको थियो । उपचारको क्रममा पैदलयात्रीको मंगलबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक रोक्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–३, फलाटेमा भिरबाट लडेर घाइते वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय धनप्रसाद धमला रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार बिहान ११ बजेर ३० मिनेटको समयमा धमला घाम ताप्ने क्रममा घर नजिकै रहेको भिरबाट ५ सय मिटर तल लडी घाइते भएका थिए । घाइते धमलाको त्रिशुली अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि टिचिङ अस्पताल काठमाडौं लगिएको थियो । सोमबार उपचार हुँदैन भनि अस्पतालले डिस्चार्ज गरेपश्चात् घरमा ल्याई राखेकोमा धमलाको मंगलबार बिहान ११ बजेर ५५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नुवाकोट जिल्लाकै ककनी गाउँपालिका–२, कोल्पुखोला सनटारमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा सल्यानको फलावाङ–४ घर भई हाल कोल्पुखोला सनटार बस्ने ३२ वर्षीय पोखर सिंह वली रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बिहान ७ बजेको समयमा वली पाखो बारीमा मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानको क्रममा घटनास्थल नजिकै तरकारीमा छर्ने विषादीको ४ वटा बट्टा फेला परेको प्रहरीले जानकारी दिएको छ । सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१३, मनवामा सुतिरहेको अवस्थामा एक जना महिला मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ५५ वर्षीया दिलकुमारी परियार रहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबार साँझ ५ बजेको समयमा परियार आफ्नै घरबाट पश्चिममा रहेको रानीटार पसलमा मासु किन्न गएर फर्कने क्रममा बेलुका ७ बजेको समयमा बाटोदेखि ५ फिट तल खसेकी थिइन् । परियारलाई उद्दार गरी स्थानीय प्रेमबहादुर श्रेष्ठको घर बाहिर पालीमा पराल ओछ्याई सुताएकोमा मंगलबार बिहान ३ बजेको समयमा मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा परियारले मादक पदार्थ सेवन गरेको पाइएको छ । सिन्धुलीकै गोलन्जोर गाउँपालिका–४, भोग्तेयरी डाँडामा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कमलामाई नगरपालिका–११, फेदीखोला घर भई हाल भोग्तेयरी डाँडा बस्ने ३३ वर्षीय गोपाल दमाई रहेको प्रहरीले जानकारी दिएको छ ।

बिगत ६/७ वर्षदेखि मामाघरमा बस्दै आएका दमाई सोमबार बेलुका कसैलाई जानकारी नगराई घरबाट हिँडेका थिए । दमाईलाई खोजतलास गर्दै जाने क्रममा मंगलबार बिहान ७ बजेको समयमा शितलपोखरीस्थित प्रतीक्षालयमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानका क्रममा दमाई छारेरोगको बिरामी रहेको तर औषधी सेवन नगरेको खुलेको छ ।