हेटौंडा ः दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले सुखद् सुरुवात गरेको छ । प्रदेश फुटबल संघको आयोजनामा बुधबारबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सुरु भएको उद्घाटन खेलमा काभ्रे पलाञ्चोकको माउण्ट एभरेष्ट फुटबल क्लबलाई काठमाडौँको चित्लाङ फुटबल क्लबले ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
काठमाडौंको जीतमा अंकित रासकोटीले एक्लैले ३ गोल गरे । उनले पहिलो हाफको १५औं मिनेटमा र २०औं मिनेटमा २ गोल गरेका थिए । दोस्रो हाफको ४० औँ मिनेटमा थप १ गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । म्यान अफ द म्याच घोषित हुँदै रासकोटीले ट्रफी र ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यो जीतसँगै काठमाडौंको टिमले ३ अंक जोड्न सफल भएको छ ।