मेला बारे जानकारी गराउनुहुँदै संघकी अध्यक्ष कल्पना श्रेष्ठ ।

हेटौंडा ः हेटौंडामा उद्यम प्रवद्र्धनका लागि मेला आयोजना हुने भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको आयोजनामा उद्यम प्रवद्र्धन मेला हुने भएको हो ।

संघको आयोजनामा ‘उत्पादन बजारीकरण तथा लगानीको आधार, उद्यम प्रवद्र्धन हाम्रो पूर्वाधार’ भन्ने मुल नाराका साथ पुस १६ गतेदेखि १८ गतेसम्म ३ दिन मेला हुनेछ । संघले आइतबार पत्रकार सम्मेलनमार्फत् मेलाका विषयमा जानकारी दिएको हो ।

मेला हेटौंडा–२, शान्तिपथस्थित जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरको नवनिर्मित भवन परिसरमा सञ्चालन हुने संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । मेलाले सहकारीमार्पmत् उद्यम गर्ने सदस्यलाई प्रोत्साहन गर्ने, सहकारीका व्यवसायी सदस्यको व्यवसाय प्रवद्र्धन गर्ने र उत्पादक र उपभोक्ताबीच पुलको रुपमा काम गर्ने उहाँले बताउनुभयो ।

मेलामा ३५ वटा स्टलहरु रहनेछन् भने ३ वटा अन्तर जिल्लाका संस्था र २ वटा अत्यावश्यक वस्तुको स्टल रहने उहाँले बताउनुभयो । स्टलहरुमा स्थानीय तथा घरेलु उद्योगका उत्पादनहरु, खाद्य सामग्रीहरु राखिने उहाँको भनाइ छ । मेलाको क्रममा सहकारी हाजिरीजवाफ प्रतियोगिता, क्याम्पसस्तरीय सहकारी निबन्ध प्रतियोगिता समेत सञ्चालन हुने आयोजकको भनाइ छ । मेलामा ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

मेलाकै अवसरमा संघको नवनिर्मित भवनको उद्घाटन समेत हुनेछ । करिब साढे ३ करोड लागतमा निर्माण भएको भूमिगत पार्किङसहित २ तल्ले भवनमा दोस्रो तल्लामा संघको कार्यालय रहनेछ । दोस्रो तल्लामा संघको व्यवस्थित कार्यालय रहने बताइएको छ । तीन हजार तीन सय वर्गफिट क्षेत्रफलको भवनमा पुस्तकालय, वाचनालयसहित बैठक र सभाहल समेत रहेको छ ।

हेटौँडा–२ स्थित ३४ धुर जग्गामा भवन निर्माणका लागि बागमती प्रदेश सरकारबाट ३३ लाख रुपैयाँ, बकैया गाउँपालिकाबाट ७ लाख रुपैयाँ, मनहरी गाउँपालिकाबाट ५ लाख रुपैयाँ, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाबाट २/२ लाख रुपैयाँ सहयोग प्राप्त भएको संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभयो । संघको भवन निर्माणकै लागि सदस्यबाट एक इँटा बराबर १० रुपैयाँ सहयोग अभियानमार्फत १० लाख रुपैयाँ संकलन भएको बताइएको छ । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलबाट भवनको उद्घाटन गरिने संघका सचिव बीरेन्द्रप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।