कार्यक्रमको क्रममा खिचीएको तस्वीर ।

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताउनुभयो । उहाँले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी बताउनुभयो । सोमबार हेटौंडामा गाउँपालिका तथा नगरपालिका महासंघका प्रतिनिधिसंग योजना तर्जुमा तथा प्रदेश आयोजना बैंक संचालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले नेपालमा पुर्वाधार निर्माण महंगो परिरहेको बताउनुभयो । हालको पुर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार विकास निर्माणको काम डिजाइन एण्ड बिल्ड विधीमा संचालन गर्दा सहज हुनेछ ।

‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ । प्रभावकारी र वृहत प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्न पर्छ ।’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउन आयोजना बैंक संचालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनौट गरेर काम अघि बढाउछौ ।’

गुणस्तर र निर्माणको विषय प्रक्रियागत रुपमा अनुगमन गरेर नियमन नियन्त्रण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो । सरकारको लगानीलाई उत्पादनमुखि बनाउन जरुरी रहेको उहाँको भनाई छ । उहाँले अधुरा आयोजना पूरा गर्नेगरी सरकारले अघि बढाउन जरुरी रहेको छ । आन्तरिक र अन्तर सरकार बिच समन्वयात्मक भुमिकाबाट काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

‘हामीले आन्तरिक र अन्तर सरकार बिच समन्वय गर्न जरुरी छ । सरकारको नेतृत्व गरिरहेका व्यक्ति बिच आफू भित्र नै द्वन्द भएमा समस्या समाधान हुन सक्दैन । छलफलको एजेन्डा र कार्यान्वयनमा ध्यान दिनुपर्छ । कार्ययोजना अनुसार काम गर्न जरुरी छ । समस्या समाधान गर्नेगरी छलफल गरेर अघि बढ्नु पर्छ ।’ मुख्यमन्त्री लामाले भन्नुभयो ।