हेटौंडा १२ को वडाअध्यक्ष निर्वाचित अर्जुनप्रसाद तिवारी । फाइल तस्विर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनका आधा उम्मेद्वारले खर्च विवरण बुझाएका छन् । गत मंसिर १६ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका १२ जनामध्ये ६ जनाले बागमती प्रदेश निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभएको हो ।

वडाध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका रविकुमार प्रधान (रविन), जनता समाजवादी पार्टी (जसपा) का छविलाल वाइबा, मंगोल नेशनल अर्गनाइजेसनका दीपा लामा, स्वतन्त्र उम्मेदवार अर्जुन घलान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रेमबहादुर भोलन र वडाध्यक्षमा निर्वाचित नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीले खर्च विवरण बुझाएका छन् ।

वडाध्यक्ष पदमा निर्वाचित नेपाली कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ लाख ७ हजार रुपैयाँ खर्च गरेको निर्वाचन कार्यालयमा बुझाइएको विवरणमा उल्लेख छ । मतदाता नामावली खरिदमा ५ हजार ६ सय रुपैयाँ, सवारी साधनमा ४५ हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा ४२ हजार ४ सय रुपैयाँ र अन्यमा १४ हजार रुपैयाँ खर्च भएको विवरण तिवारीले पेश गर्नुभएको छ ।

निर्वाचन कार्यालयमा बुझाइएको खर्च विवरणअनुसार माओवादीका प्रधानको ८६ हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ । प्रधानले सवारी साधनमा १८ हजार रुपैयाँ, प्रचारप्रसार सामग्रीमा ३४ हजार ५ सय ४० रुपैयाँ, कार्यकर्ता परिचालनमा २५ हजार रुपैयाँ र अन्य प्रचारप्रसारमा ९ हजार रुपैयाँ खर्च भएको विवरण प्रदेश निर्वाचन कार्यालयमा बुझाउनुभएको छ ।

जनता समाजवादीका जोशीले ३२ हजार ७० हजार रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । उहाँले सवारी साधनमा ४ हजार २० रुपैयाँ, इन्धनतर्फ ३ हजार रुपैयाँ, प्रचार सामग्रीमा २१ हजार रुपैयाँ, कार्यालय सञ्चालनमा ३ हजार रुपैयाँ र अन्य ६ हजार २ सय रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको हो ।

मंगोल नेशनल अर्गनाइजेसनकी दीपा लामाले ३१ हजार रुपैयाँको खर्च विवरण पेश गर्नुभएको छ । उहाँले व्यानर खर्च १८ हजार रुपैयाँ र अटो भाडा १३ हजार रुपैयाँगरी ३१ हजार रुपैयाँ खर्च भएको विवरण पेश गर्नुभयो । स्वतन्त्र उम्मेद्वार घलानले ६ हजार ५ सय रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । उहाँले प्रचारप्रसारमा ३ हजार र विद्युतीय माध्यममा ३ हजार ५ सय रुपैयाँको खर्च विवरण बुझाउनुभएको छ ।

राप्रपाका प्रेमबहादुर भोलनले १ लाख ५४ हजार ४ सय रुपैयाँ खर्च भएको विवरण बुझाउनुभएको छ । मतदाता नामावली खरिद ५ सय रुपैयाँ, सवारी साधन १८ हजार रुपैयाँ, सवारी इन्धन १४ हजार रुपैयाँ, प्रचारप्रसार सामग्री २५ हजार रुपैयाँ, ढुवानी ५ हजार ४ सय रुपैयाँ, कार्यकर्ता परिचालन ३५ हजार रुपैयाँ, अन्य प्रसारण माध्यम १४ हजार रुपैयाँ, कार्यालय सञ्चालन २१ हजार रुपैयाँ, प्रतिनिधि परिचालन १८ हजार रुपैयाँ र विविध ३ हजार ५ सय रुपैयाँ खर्च भएको उहाँले विवरण बुझाउनुभएको हो ।

मंसिर १६ गते सम्पन्न भएको उपनिर्वाचनमा उम्मेदवारी दिएका नेकपा एमालेका राजेश नगरकोटी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका बलराम बल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशावीर बलले खर्च विवरण बुझाएका छैनन् । यस्तै, स्वतन्त्र उम्मेदवारहरु फूलमाया तितुङ, छत्रप्रकाश अधिकारी र गीताकुमारी नेवारले पनि खर्च विवरण बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने नियम रहेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख ढकालले बताउनुभयो ।