हेटौंडाः मकवानपुरका अधिकांश सामुदायिक विद्यालयमा धमाधम अर्धवार्षिक परीक्षा भइरहेको छ । केही विद्यालयमा गत सोमबारबाट सुरु भएको छ भने केही विद्यालयमा बिहीबारबाट सुरु भएको छ । यस्तै, केही विद्यालयले अर्धवार्षिक परीक्षा सञ्चालन गरिसकेका छन् भने केहीले पुस ८ गतेबाट परीक्षा सञ्चालनको तयारी गरिरहेका छन् ।
अर्धवार्षिक परीक्षा सञ्चालन भइरहँदा सबै विद्यार्थी परीक्षामा उपस्थित छैनन् । अर्धवार्षिक परीक्षामा उपस्थित हुन नसक्नुको मुख्य कारण बालविवाह, गरिबी र अन्य विद्यालयमा पढ्न गएको हुनसक्ने बताइएको छ । कति विद्यार्थीले परीक्षा दिइरहेका छन् वा छैनन् भन्ने बारेमा स्थानीय सरकार (पालिका) भने बेखबर छ ।
नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाले उपमहानगरभित्रका ७३ सामुदायिक विद्यालयमध्ये ५८ वटा विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन गरिरहेको छ । ती विद्यालयमध्ये हेटौंडा–१४, मयूरधापस्थित जनज्योति माध्यमिक विद्यालय र हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई हेर्दा मात्र अर्धवार्षिक परीक्षामा विद्यार्थी अनुपस्थित उल्लेख्य रहेको पाइएको छ ।
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक भोगेन्द्र लुईंटेलले विद्यालयमा भर्ना भएका ५ सय १४ जनामध्ये ८ जना परीक्षामा अनुपस्थित भएको जानकारी दिनुभयो । दुई जनाले सानै उमेरमा विवाह गरेको र एक विद्यार्थीले बिरामी बाबुलाई स्याहार गर्नुपर्ने भन्दै विद्यालय छाडेको उहाँ बताउनुहुन्छ । परीक्षामा अनुपस्थितमध्ये एक÷दुई जना अन्य विद्यालय पढ्न गएका छन् भने विद्यालय छाडेकामध्ये अन्य विद्यार्थीले किन पढाइ छोडे त्यो यकिन नभएको उहाँले बताउनुभयो ।
आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा भर्ना भएका २ हजार ३ सय ४९ विद्यार्थीमध्ये ३४ जना विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएका छैनन् । केही विद्यार्थी बिरामी भएका कारणले परीक्षामा अनुपस्थित भएको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । तर भर्ना भएका सबै विद्यार्थी परीक्षामा किन उपस्थित भएनन् भन्ने विषय जानकारी नभएको उहाँले बताउनुभयो ।
यसैगरी, भीमफेदी गाउँपालिकाकाभित्र रहेका ४६ वटा सामुदायिक विद्यालयमा पनि अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । भीमफेदी गाउँपालिका–५, सुपिङमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयमा भर्ना भएका एक सय ४६ विद्यार्थीमध्ये ३ जनाले अर्धवार्षिक परीक्षा दिएका छैनन् । विद्यालयकी प्रधानाध्यापक उषा आचार्यले दुई विद्यार्थी बसको सहचालक बनेका कारण परीक्षामा अनुपस्थित भएको जानकारी दिनुभयो । एक विद्यार्थी भने दशैंको लामो बिदापछि विद्यालय नै नआएको उहाँ बताउनुहुन्छ ।
कक्षा ३ सम्म पठनपाठन हुने भीमफेदी गाउँपालिका–८, ईपा देउरालीस्थित देउराली प्राथमिक विद्यालयमा भर्ना भएका १४ जना विद्यार्थीमध्ये एक जना अनुपस्थित छन् । विद्यालयका कुसुमकुमार दानीले सामान्य बिरामीका कारण ती विद्यार्थी परीक्षामा सहभागी नभएको जानकारी दिनुभयो ।
मकवानपुरकै मनहरी गाउँपालिकाभित्र रहेका ३२ वटा सामुदायिक विद्यालयमा पनि अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा भर्ना भएका ४ सय ४८ विद्यार्थीमध्ये ४ सय १४ जनामात्र परीक्षामा सहभागी भएका छन् । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले ६ दशमलब २१ प्रतिशत विद्यार्थी अर्धवार्षिक परीक्षामा अनुपस्थित भएको जानकारी दिनुभयो ।
मनहरी गाउँपालिका शिक्षा शाखाका प्रमुख प्रदीप पराजुलीले भन्नुभयो– ‘पालिकाभित्रका विद्यालयमा कति विद्यार्थीले परीक्षा दिइरहेका छन् र कति जनाले दिएका छैनन् भन्ने विषय पालिकाले खोजी गर्नु ठूलो विषय होइन ।’ तर, पालिकाले जनशक्ति व्यवस्थापन गर्न नसक्दा परीक्षामा उपस्थित र अनुपस्थित विद्यार्थीको तथ्यांक तत्काल राख्न नसकिएको बताउनुभयो । यस्तै, भीमफेदी गाउँपालिका शिक्षा शाखा प्रमुख चक्र साउदले सबै ठाउँमा विद्यालयको नम्बर नलाग्ने कारण परीक्षामा उपस्थित र अनुपस्थित विद्यार्थीको तथ्यांक लिन नसकिएको जानकारी दिनुभयो । परीक्षा सकिएपछि पालिकाले सबै विद्यालयबाट विवरण लिने उहाँले बताउनुभयो ।
जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहनुभएका नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाका अध्यक्ष भोगेन्द्र लुईंटेलले सबै विद्यालयबाट विद्यार्थीको विवरण लिन नसक्ने बताउनुभयो । हेटौंडा उपमहानगरले उपमहानरभित्रका विद्यालयको अर्धवार्षिक परीक्षामा उपस्थित र अनुपस्थित विद्यार्थीको तथ्यांक माग गरे परीक्षा सकिएपछि उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।