हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया युवती र हेटौंडा–१४, की २६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा–४, कर्रास्थित आइसोलेसन वार्डका ईन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडा–५ की युवती भारतबाट आएकी हुन् भने हेटौंडा–१४ की २६ वर्षीया महिलाका श्रीमान्मा एक साताअघि मात्रै कोरोना संक्रमण पुष्टि भएकोले श्रीमान्बाटै संक्रमण विस्तार भएको हुन सक्ने आइसोलेसन वार्ड ईन्चार्ज चौलागाईले बताउनुभयो । संक्रमित दुबैजनालाई आइसोलेसन वार्ड ल्याइएको छ । हेटौंडा–५ की युवती भारतबाट आएर हेटौंडा–९ स्थित वडा कार्यालयले निर्माण गरेको क्वारेन्टिनमा बसेकी थिइन् ।