हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेन (प्याव्सन) र आन्दोलनरत संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) बीच सहमति भएको छ । आइतबार साँझ प्याव्सन, एनप्याव्सन र इस्टुको संयुक्त बैठक बसी प्याव्सन, एनप्याव्सनले शिक्षकहरुलाई दिएको बेतलबी घर बिदा दिने निर्णय फिर्ता गर्ने सहमति गरेको छ । चैत्रसम्म खुवाउन बाँकी तलब तत्काल खुवाउन सबै विद्यालयलाई पत्राचार गर्ने र बैशाखदेखि व्यावहारिक रूपमा क्रमशः तलब खुवाउने कुरामा सहमत भएकाले सोमबारदेखिका प्याव्सन र एनप्याव्सन बिरुद्धका आन्दोलनका कार्यक्रमहरु अर्को निर्णय नभएसम्म स्थगित भएको इस्टु हेटौंडा उपमहानगर समितिका अध्यक्ष सीएम रिमालले जानकारी दिनुभयो ।

यसअघि आइतबार नै संस्थागत विद्यालयका शिक्षक, कर्मचारीले आन्दोलनको घोषणा गरेका थिए । लकडाउनको समयमा विद्यालयले शिक्षक कर्मचारीको तलब नदिएको भन्दै निजी विद्यालयका शिक्षक कर्मचारी आन्दोलनरत थिए । शनिबार संस्थागत विद्यालय शिक्षक यूनियन (ईस्टु) मकवानपुर जिल्ला सचिवालय र हेटौंडा उपमहानगर सचिवालयको संयुक्त बैठकले संस्थागत विद्यालयका शिक्षक, कर्मचारीको सेवा, सुविधाको माग गर्दै आज सोमबारदेखि आन्दोलनको घोषणा गरेका थिए ।

ईस्टुले सोमबार बिहान साढे १० बजे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन), एन प्याव्सन मकवानपुरको कार्यालयमा सांकेतिक विरोधपत्र टाँस गर्नुका साथै कार्यालयमा तालाबन्दी गर्ने, मंगलबार बुद्धचोकमा कोण सभा गर्ने, बुधबार मुख्यमन्त्री कार्यालयमा बिहान ११ बजे धर्ना दिने र बिहीबार हेटौंडा उपमहानगरपालिका र जिल्ला समन्वय समितिमा बिहान ११ बजे धर्ना दिने कार्यक्रम तय गरेको थियो । यता संस्थागत विद्यालय सञ्चालकहरु भने अभिभावकसँग शूल्क उठाउन नपाएकाले शिक्षक, कर्मचारीलाई तलब सुविधा दिन नसकिने बताउँदै आएका थिए ।