उपाधिसाथ रियल स्टार फुटबल क्लबको टिम ।

हेटौँडाः पिप्ले युवा क्लबले आयोजना गरेको यु–१५ वडाध्यक्ष कप खुला फुटबलको उपाधि रियल स्टार क्लबले जितेको छ । आइतबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न भएको फाइनल खेलमा चितवन जिल्लाको कालिका नगरपालिकाको गैरीबारी क्लबलाई १–० गोलअन्तरले हराउँदै रियल स्टार क्लबले उपाधि जितेको हो ।

प्रतियोगिताको उपाधि विजेता रियल स्टारको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता गैरीबारीको टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । पिप्ले युवा क्लबका अध्यक्ष सुवीन घिमिरेको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा प्रतियोगिताको पुरस्कार वितरण समारोह भएको हो ।

रियल स्टारको जीतमा मिलन ब्लोनले निर्णायक गोल गरे । पहिलो हाफको १२ औं मिनेटमा मिलनले निर्णायक गोल गरे । खेलका निर्णायक गोलकर्ता ब्लोननै म्यान अफ द म्याच घोषित भए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै रियल स्टारका सन्दिप गोलेले ५ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । रियल स्टार क्लबका मिलन ब्लोन उत्कृष्ट फरवार्ड, गैरीबारीका निशान गुरुङ उत्कृष्ट डिफेन्डर, गैरीबारीकै सुरज गुरुङ उत्कृष्ट मिडफिल्डर, रियल स्टारका आदित्य थिङ उत्कृष्ट गोलरक्षक र रियल स्टारकै दिनेश चौलागाईं उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही ३ हजार ५ सय रुपैयाँ नगद राशि प्राप्त गरेका छन् ।

यसअघि आइतबार नै सम्पन्न भएको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–१५ को न्यू डाँफे फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै रियल स्टार फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमीफाइनल खेलमा हेटौंडा–८ को देवनगर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै गैरीबारी फाइनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा २० वटा टिमहरुको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोहमा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामा, महासचिव छवी सुवेदी, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र प्रसाद घिमिरे, वडाध्यक्षहरु सविन न्यौपाने, सुशील घिमिरे, दीपक खड्का, जेसीआई हेटौँडाका अध्यक्ष विकेश लाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।