हेटौँडाः हेटौँडामा जारी १५ वर्ष उमेर समूह (यु–१५) वडाध्यक्ष कप फुटबल प्रतियोगितामा चितवन जिल्लाको गैरीबारी फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । आइतबार दिउँसो हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको दोस्रो सेमीफाइनल खेलमा हेटौंडा–८ को देवनगर फुटबल क्लबलाई टाइब्रेकरमा ३–१ गोलले गैरीबारीले पराजित गरेको छ ।
खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि नतिजाका लागि टाइब्रेकरको साहारा लिनुपरेको थियो । म्यान अफ द म्याच गैरीबारीका गोलरक्षक राज घले घोषित भए । प्रतियोगिताको फाइनलमा उपाधिका लागि गैरीबारीले रियल स्टार क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । फाइनल खेल दिउँसो ३ बजेबाट सुरु सुरु हुनेछ ।
यसअघि आइतबार बिहान भएको पहिलो सेमीफाइनल खेलमा हेटौँडा–१५ को न्यू डाँफे फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै रियल स्टार फाइनल प्रवेश गरेको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा रियल स्टारले २–१ गोलअन्तरमा न्यू डाँफेलाई पराजित गरेको हो ।
पिप्ले युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा २० वटा टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।