वार्तामा सहभागी लेखक लामा र साहित्यकार निमेष निखिल ।

हेटौँडाः हेटौंडामा निबन्धकार कुमारी लामाको निबन्ध ‘दज्र्यु संलाप’ माथि अन्तरक्रिया गरिएको छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा लामाद्वारा लिखित ‘दज्र्यु संलाप’ माथि वार्ता विमर्श गरिएको हो ।

लेखक लामाले आफू हुर्केको परिवेशलाई साहित्यमा समेट्दा अझ प्रभावकारी बन्ने बताउनुभयो । सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलसँगको वार्तामा बोल्नुहुँदै निबन्धकार लामाले आफ्नै पृष्ठभूमिका भुइँमान्छेका विद्रोहलाई निबन्धात्मक रुपमा ल्याउँदा निबन्धको दायरा अझै फराकिलो बन्न पुगेको बताउनुभयो ।

सुशासन कायम गर्ने बेग्लै निकाय हुँदाहुँदै लेखकले प्रश्न मात्रै उठाउने हो वा समाधान पनि गर्ने हो ? भन्ने निमेष निखिलको सवालमा लामाले प्रश्न उठाउनु आवश्यक रहेको बताउनुभयो । संविधानले छोरीलाई अंश र वंशको अधिकार दिँदैमा व्यवहारमा परिवर्तन नहुने निबन्धकार लामाको तर्क थियो । निबन्धहरुलाई शृंखलात्मक रुपमा प्रस्तुत गरिएको ‘दज्र्यु संलाप’मा उल्लेखित पात्र कान्छी तामाङको जीवन आफ्ना लागि प्रेरणादायी रहेको उल्लेख गर्नुहुँदै लामाले उनको संघर्षका कथालाई नै हालको किताबमा तेस्रो पटक समेट्दै देहान्तका कारणले टुंग्याएको जानकारी दिनुभयो ।

विगतमा न्युन पारिश्रमिक दिएर तामाङहरूको शोषण भएको, ज्यानै मास्न सकिने कानूनी व्यवस्थाले राजनीति, शिक्षा, अर्थमा विगतदेखि नै दमनका शृंखला रहेकोले पात्रहरूमा तामाङहरुकै बाहुल्यता रहेको लेखक लामाले बताउनुभयो । कार्यक्रममा यश लामा, सुवास सजल, वनस्तम थिङ लगायतले पाठकीय टिप्पणी राखेका थिए । किताबघर हेटौंडा र ’आह्वान’को संयुक्त आयोजनामा भएको कार्यक्रममा आख्यानकार उमा सुवेदीले ‘आह्वान’का गतिविधि बारे जानकारी गराउनुभएको थियो ।