सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशको ३ जिल्लामा एकैदिन ४ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा प्रदेशको रामेछाप, चितवन र सिन्धुलीमा एकैदिन ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । रामेछापको खाँडादेवी गाउँपालिका–६, माकादुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टर चालक रामेछाप नगरपालिका–५ का ३७ वर्षीय खिल बहादुर भुजेल रहेको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान ११ बजेर ५० मिनेटको समयमा खाँडादेवीबाट गाल्पा जाने भित्री सडकखण्डमा गाल्पाबाट गोगनपानीतर्फ आउँदै गरेको ना ६ त ७८२४ को खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसेको थियो । दुर्घटनामा भुजेल गम्भीर घाइते भएका थिए । घाइते भुजेललाई उपचारका लागि मन्थली अस्पताल रामेछाप लगिएकोमा दिउँसो १ बजेको समयमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, रामेछापको खाँडादेवी गाउँपालिका–४, खल्लरीमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा रामेछाप मन्थली नगरपालिका–६ भलजोरका ४९ वर्षीय डम्बर बहादुर थापा रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार बिहान ११ बजेर ४० मिनेटको समयमा तामाकोशी किनारमा थापा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ ।

चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४, पानीधारामा श्वासप्रश्वासमा समस्या भएका वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जाको वालिङ नगरपालिका–८ का ७३ वर्षीय कृष्ण शर्मा रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो १ बजेर १५ मिनेटको समयमा स्याङ्जाबाट काठमाडौँ जाँदै गरेको ग २ ख १५७६ नम्बरको माइक्रोमा सवार शर्माको श्वासप्रश्वासमा समस्या भएको थियो । शर्माको इच्छाकामना आधारभूत अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर १० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको दुधौली नगरपालिका–३, मिलनचोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । गत आइतबार बेलुका ७ बजेर ३० मिनेटको समयमा मिलनचोकस्थित डकाहा–कालापनी भित्री सडकखण्डमा डकाहाबाट कालापानीतर्फ जाँदै गरेको प्र १–०५–००१ प ९०६१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री चालक र पछाडि सवार ३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा चालक धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ का १८ वर्षीय अमन सिङ, पछाडी सवार दुधौली नगरपालिका–३, कालापानीका १६ वर्षीय सन्दिप सुनुवार र पैदलयात्री मिलनचोकका ६३ वर्षीय लाल बहादुर पाख्रिन थिए । घाइते तीनै जनाको आमा मेमोरियल अस्पताल डकाहामा सामान्य उपचार पश्चात उपचारका लागि धुलिखेल अस्पताल काभ्रे लगिएको थियो । सिङ र सुनुवार डिस्चार्ज भइसकेका छन् भने पाख्रिनलाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पताल लगिएको थियो । पाख्रिनको शनिबार साँझ ६ बजेर ३५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकलधनी दुधौली–३, कालापानीका ४१ वर्षीय रन्जित कुँवरलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिएको छ ।