हेटौंडाः मकवानपुर उद्योग वाणिजय संघको अध्यक्षमा अनिल अग्रवालले उम्मेदवारी घोष्णा गर्नुभएको छ । आइतबार हेटौंडा–१०, बुद्धचोकमा सचिवालयको उद्घाटन गर्नुहुँदै अग्रवालले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गर्नुभएको हो । उद्योग वाणिज्य संघमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका अग्रवालले आगामी पुस २४ गतेदेखि २७ गतेसम्म हुने उद्योग वाणिज्य संघको साधारणसभामा अध्यक्षको उम्मेदवार हुने जानकारी दिनुभयो ।
अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नो कार्यालयमा व्यापार मेला महोत्सव नगर्ने अग्रवालले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । व्यापार मेला आयोजना गरेका कारणले व्यवसायीहरु घाटामा जाने र बैंकले घर लिलामी गर्ने कुरालाई मध्य नजर गर्दै व्यापार मेलालाई अध्यक्ष पदमा निर्वाचित भएपछि आफ्नो कार्यकालमा रोक लगाउने अग्रवालले विश्वास दिलाउनुभएको हो ।
आर्थिक मन्दिको कारणले व्यापार व्यवसायी घाटामा गएको कुरालाई मध्य नजर गरेर संघ मार्फत उद्योगको विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ आफू लागीपर्ने उहाँले बताउनुभयो । अग्रवालले संघको साख उच्च बनाउने, संस्थागत विकासका कामहरुमा लाग्ने बताउनुभयो । अग्रवालले संघमा १७ वर्षे लामो यात्रामा विवादरहित रहेको र हालसम्म मकवानपुरे उद्योगी÷व्यवसायीले आफूलाई विजयी गराउँदै आएकोमा खुशी व्यक्त गर्नुहुँदै अन्तिम पटको पनि जित हासिल गर्ने विश्वास रहेको उहाँको भनाई छ ।
उद्योगी व्यवसायीका समस्यामा सहजीकरण गर्ने, स्थानीय र प्रदेश सरकारसँग थप सुमधुर सम्बन्ध बनाउने, आन्तरिक राजश्व कार्यालयमा राखिने हेल्प डेक्सलाई थप सुविधाजनकरुपमा व्यवस्थित गरिने, आन्तरिक राजश्व कार्यालयसँग सम्बन्ध सुधार गर्दै करका समस्यामा सहजीकरण गर्ने र उद्योग बाणिज्य महासंघ प्रदेश तथा केन्द्रसँग सम्बन्ध सुधार गर्दै विभिन्न जानकारीमूलक कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । साना व्यवसायीहरुको व्यवसाय कर तथा राजश्व कर भुक्तानीलाई अधिकतम सहजीकरण गर्ने उहाँले बताउनुभयो । यसअघि प्रमोदसिंह रानाभाटले संघको अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्नुभएको थियो ।