मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय भवन ।

हेटौँडाः बागमती प्रदेश दुग्ध विकास बोर्डको उपाध्यक्षमा हरिप्रसाद पौडेल नियुक्त हुनुभएको छ । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले चितवन जिल्लाको राप्ती नगरपालिका–७ का पौडेललाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले बागमती प्रदेश विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीलाई विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीको सदस्यमा मनोनित गर्न सहमति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । त्यसैगरी बैठकले कारागार कार्यालयमा लघु उद्यम कार्यक्रम सञ्चालनका लागि बजेट अख्तियारी दिने निर्णय गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार बैठकले संघीय सरकार अन्तर्गत रहेका निकायका लागि चालु आर्थिक वर्षको बजेट किताबमा भएका योजना कार्यान्वयनका लागि सहमति लिने निर्णय गरेको छ ।

बैठकले चालूतर्फको बजेट खर्चमा २० प्रतिशत रकम खर्च कटौति गर्ने निर्णय गरेको छ । विपद्को समयमा अर्थ विविध शिर्षकको बजेट अपुग भएकाले सबै मन्त्रालयको चालू खर्च कटौति गर्ने निर्णय गरिएको मन्त्री लामिछानले बताउनुभयो । बैठकले अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा लैजाने सैद्धान्तिक सहमति प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।