हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिका–६, चौकिटोलमा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार राती १० बजेर ३० मिनेटको समयमा पुर्व पश्चिम सडक खण्डमा विरगंन्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५५२४ नम्बरको यात्रु बाहक बसले ठक्कर दिँदा पहिचान नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बसको ठक्करबाट पुरुष गम्भिर घाइते भएका थिए । घाइते पुरुषलाई उपचारका लागि हेटौँडा सरकारी अस्पताल ल्याएकोमा राती ११ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव सोही अस्पतालमा रहेको छ । ठक्कर दिने बस र बस चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ का ५८ वर्षीय उद्धव गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।