हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भ्रष्टाचार नियन्त्रणको विषय चुनौतिपूर्ण बन्दै गएको बताउनुभएको छ । पदमा रहेका व्यक्तिहरुको आचरणका कारण भ्रष्टाचार न्यूनीकारण थप चुनौतिपूर्ण बनिरहेको उहाँको भनाइ छ ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८१ को अवसरमा हेटौंडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले हरेक व्यक्तिको सम्पत्ति र आय विवरण अद्यावधिक गर्न जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार भ्रष्टाचार नियन्त्रणको उपयुक्त विषय भनेको प्रत्येक व्यक्तिको विवरण अद्यावधिक गर्नु हो । भ्रष्टाचार नियन्त्रणका लागि प्रविधिमैत्री विधि प्रयोग गेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
भ्रष्टाचार नियन्त्रणका लागि हरेक क्षेत्रमा राज्यको नियन्त्रण रहनुपर्ने उहाँको भनाई छ । नीति, कानुन निर्माण गरेर मात्र नहुने भन्नुहुँदै कार्यान्वयन पक्ष बलियो बनाउनु पर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार अख्तियार दुरुपयोग अनुसान्धान आयोगलाई पनि राज्यले नियन्त्रण गर्नुपर्छ । आयोगले प्रतिशोधको भावना राखेर काम गर्न नहुने उहाँले बताउनुभयो ।