हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको अध्यक्षमा कृष्ण सारु मगरले उम्मेदवारी घोषणा गर्नुभएको छ । दुई कार्यकाल महासचिवको भूमिका निर्वाह गर्नुभएका मगरले आइतबार पत्रकार भेटघाट कार्यक्रममार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । मगरले १९ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको छ ।
दुर्घटना, बिरामी, ज्येष्ठ पत्रकार र समस्यामा परेका पत्रकार÷सञ्चारकर्मीहरुलाई सहयोग गर्न प्रदेश सरकार, सञ्चार रजिष्ट्रार कार्यालयसँगको सहकार्यमा स्थापित पत्रकार कल्याणको कोष सञ्चालनमा ल्याउने, पत्रकारहरुको स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्ने, पत्रकारहरुको स्वास्थ्य परीक्षणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । मगरले प्रदेशभित्र रहेर निरन्तर ३० वर्ष भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रजहरुलाई सम्मान गर्दै जाने, संचारकर्मीको क्षमता विकासका लागि विभिन्न मिडिया हाउस भिजिटका कार्यक्रम संचालन गर्ने, बिट रिपोर्टिङ गर्ने संचारकर्मीलाई सम्बद्ध बिट पत्रकारिताका लागि विशेष तालिमको व्यवस्थापन गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
बागमती प्रदेशको काठमाडौं उपत्यकाका ३ जिल्ला बाहेक मकवानपुरसहित १० जिल्लाका सदस्यले प्रदेश समिति चयनका लागि निर्वाचनमा सहभागिता जनाउनेछन् । नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत आज सोमबार प्रदेश समितिका उम्मेदवारले उम्मेदवारी दर्ताको तालिका रहेको छ । यसअघि शनिबार केन्द्रीय समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ भने बुधबार जिल्ला शाखासँगै एसोसिएट र प्रतिष्ठान शाखामा पनि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ ।