कार्यक्रम उद्घाटन गरिँदैको तस्वीर ।

हेटौंडाः वैकल्पिक हेरचाहमा हुर्केका बालबालिकालाई जन्मदर्ता पाउन मुस्किल रहेको बताइएको छ । राष्ट्रिय बालअधिकार परिषद्ले आइतबार बालबालिकाको वैकल्पिक हेरचाहको व्यवस्था, अवस्था र चुनौति विषयक प्रदेशस्तरीय अन्तरक्रियामा मन्तव्य राख्नुहुँदै किशोरी सरस्वती बुढा मगरले वैकल्पिक हेरचाहमा रहेका बालबालिकाले जन्मदर्ता जस्ता आधारभूत आवश्यकता पाउन मुस्किल रहेको बताउनुभयो । वैकल्पिक हेरचाहमा हुर्केका युवालाई रोजगारी उपलब्ध गराई जीविकोपार्जनमा सहज बनाउन आग्रह गर्नुभयो । वैकल्पिक हेरचाहमा हुर्कन कसैको रहर नभई बाध्यताको उपज भएको उल्लेख गर्नुभयो ।

यसैगरी बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका मन्त्री हरिप्रभा खड्कीले बागमती प्रदेश सरकारलाई सडकमानवमुक्त प्रदेश घोषणा गर्न लागी परेको बताउनुभयो । समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा सहकार्य गरेर अघि बढ्न जरुरी रहेको र यस्तै नागरिकताको विषयमा बहस चलाउन जरुरी रहेको औंल्याउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा लगायतको उपस्थिति रहेको थियो ।