हेटौंडाः रेडियो नेपालले राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिकाबारे अन्तरक्रिया गरेको छ । आइतबार हेटौँडामा भएको अन्तरक्रियामा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भाषा र संस्कृति हाम्रा पहिचानका आधारस्तम्भ भएको बताउनुहुँदै भाषा, संस्कृतिले हाम्रो पहिचानलाई जीवित राख्न सहयोग पुर्याएको बताउनुभयो ।
नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको रुपमा समेटिएको उल्लेख गर्नुहुँदै मन्त्री लामिछानेले तामाङ र नेपाल भाषालाई प्रदेश सरकारले कामकाजी भाषाका रुपमा थप प्रभावकारी रुपमा कार्यान्वयन ल्याउन पहल गरिरहेको जानकारी दिनुभयो । अन्तरक्रियामा रेडियो नेपालका निर्देशक पुष्करराज गौतमले रेडियो कार्यक्रममा समावेशीता र रेडियो नेपालका कार्यक्रमबारे प्रस्तुती राख्नुभएको थियो । फरक–फरक विशेषताका नागरिकहरुका लागि फरक–फरक रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण, फरक–फरक भाषामा कार्यक्रम उत्पादन तथा प्रसारण, क्षेत्रगत समावेशीताका सम्बन्धमा कार्यक्रम उत्पादन तथा प्रसारण गरेर रेडियो कार्यक्रममा समावेशीता ल्याउन सकिने निर्देशक गौतमले जानकारी दिनुभयो ।
वर्गीय, भाषिक, विषयगत÷ लैङ्गिकता, क्षेत्रगत र ढाँचागत समावेशीता रेडियो नेपालको कार्यक्रममा रहेको गौतमको भनाइ थियो । रेडियो नेपालले २५ भाषामा समाचार र २४ भाषामा कार्यक्रम प्रसारण उत्पादन तथा प्रसारण गर्दै आएको गौतमले जानकारी दिनुभयो । यस्तै रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले बागमती प्रदेशको राजधानी हेटौंडामा सञ्चारग्राम सञ्चालनको तयारी गरिरहेको बताउनुभयो । यस्तै केन्द्रदेखि प्रदेश हुँदै रेडियो नेपाल स्थानीय तहसम्म फैलाउने योजना रहेको उहाँको भनाइ छ ।










