हेटौँडाः बागमती प्रदेश लोकसेवा आयोगका नवनियुक्त सदस्य राम बहादुर खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । शुक्रबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा आयोगका अध्यक्ष महेश्वर श्रेष्ठले नवनियुक्त सदस्य खड्कालाई सपथ गराउनुभएको हो ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा तथा मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा सदस्य खड्काले सपथ ग्रहण गर्नुभएको हो । प्रदेश लोकसेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा ऐनको दफा ४ को उपदफा (२) बमोजिम गत मंसीर १३ मा खड्का आयोगको सदस्यमा नियुक्त हुनुभएको थियो । गत कात्तिक २ मा आयोगका सदस्य सुदर्शन ढकालले पदबाट राजिनामा दिनुभएपछि रिक्त सदस्य पदमा खड्का नियुक्त हुनुभएको हो ।
आयोगको अध्यक्षमा श्रेष्ठको नियुक्तिको विषयलाई लिएर ढकालले असन्तुष्टि व्यक्त गर्दै कात्तिक ११ गतेबाट लागु हुनेगरी पदबाट राजिनामा दिनुभएको थियो । आयोगको कुल ३ सदस्य मध्ये एक महिला सदस्यमा कांग्रेसबाट शर्मिला न्यौपाने हुनुहुन्छ ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–५ का खड्का प्रमुख प्रतिपक्षी दल माओवादी कोटामा आयोगको सदस्य नियुक्त हुनुभएको हो । खड्का प्राध्यापन क्षेत्रबाट आयोगको सदस्य बन्नुभएको हो । उहाँ दोलखा जिल्लाको सिंगटीस्थित प्रताप स्मृति क्याम्पसका प्रमुख हुनुहुन्थ्यो । माध्यमिक तह स्थायी शिक्षक खड्काले कालीनाग माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो । आयोगको सदस्य हुने निश्चित भएसँगै उहाँले गत कात्तिकमा शिक्षण पेशाबाट अवकास लिनुभएको हो ।











