हेटौँडाः दोलखा र चितवन जिल्लामा भएको छ्ट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–५, अनाथालयमा ट्याक्टरको ढालाबाट लडेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा अपररोडबाट चरिकोटतर्फ जाँदै गरेको लु ४ त ४१२६ नम्बरको खाली ट्याक्टरको पछाडी ढालाबाट खसेर बालकको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

ढालाबाट खसेर बैतेश्वर गाउँपालिका–४ घर भई हाल भिमेश्वर नगरपालिका–३ चरिघ्याङ बस्ने १४ वर्षीय युवराज बस्नेत घाइते भएका थिए । बस्नेतको च्छो–रोल्पा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौं लगिएको थियो । बस्नेतको बिहीबार राती ७ बजेर १५ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्याक्टर चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ बस्ने २५ वर्षीय अशोक लुङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवन जिल्लाको रत्ननगगर नगरपालिका–१०, भानुचोकमा भारतीय ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगगर नगरपालिका–२, शिवालयटोलका २७ वर्षीया बिन्दा भुजेल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बिहीबार पूर्व–पश्चिम राजमार्गमा बीरगंजबाट भरतपुरतर्फ जाँदै गरेको जीसि १३१९ नम्बरको ट्रकले ठक्कर दिँदा भुजेल घाइते भएकी थिइन् । घाइते भुजेललाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारको क्रममा बिहीबार राती १ बजेर ४० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ट्रक चालक भारत मोतिहारीका २४ वर्षीय नशिम अख्तरलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, पुलचोकमा ट्रकले ठक्कर दिँदा पैदलयात्री मृत्यु भएको छ । बिहीबार राती १ बजेको समयमा पोखरा बसपार्कबाट गैंडाकोटतर्फ जाँदै गरेको लु २ ख ५२८१ नम्बरको ट्रकले ठक्कर दिँदा महिलाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट मृत्यु भएकी अन्दाजी ४५ वर्षीया पैदलयात्री महिलाको परिचय खुल्न सकेको छैन । ट्रकको ठक्करबाट घाइते महिलालाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा राती १ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । मृतक महिला मागी खाई हिँड्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ । ट्रक र चालक बाँके जिल्लाको राप्ती नगरपालिका–१ का रेशम गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।