![Untitled-2](https://samriddhasamaj.com/wp-content/uploads/2024/12/Untitled-2-696x928.jpg)
हेटौंडाः जिल्ला खेलकुद विकास समिति दोलखाको अध्यक्षमा आशिष घिसिङ नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव दीपक लामाले घिसिङलाई खेलकुद विकास समितिको अध्यक्षमा बिहिबार नियुक्त गर्नुभएको हो ।
सदस्य–सचिव लामाले नवनियुक्त अध्यक्ष घिसिङ्लाई नियुक्तिपत्र पनि हस्तान्तरण गर्नुभएको थियो । प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलुकद विकास नियमावली, २०७६ (संशोधनसहित) को नियम (३) उप नियम १ (क) मा भएको व्यवस्था बमोजिम ४ (चार) वर्षका लागि दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त गरिएको सदस्य–सचिव लामाले बताउनुभएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले ४ जना बोर्ड सदस्य पनि नियुक्त गर्न बाँकी रहेको सदस्य–सचिव लामाले बताउनुभयो । उहाँले २ महिला र २ पुरुष सदस्य नियुक्त गर्नुपर्ने विधान रहेको बताउनुभएको छ । बागमती प्रदेशको चितवन, रामेछाप र नुवाकोट जिल्लामा खेलकुद विकास समिति अध्यक्ष नियुक्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो । नयाँ समितिको कार्यकाल ४ वर्षको हुनेछ ।