हेटौँडाः सामाजिक सेवाका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था लायन्स इन्टरनेशनल डिष्ट्रक्ट ३२५ एस नेपालको क्याबिनेट बैठक पर्सी शनिबार हेटौँडामा बस्ने भएको छ । लायन्स क्लबको डिष्ट्रिक्ट बैठक हरेक ३ महिनामा बस्ने गरेको छ । मकवानपुरसहित काठमाडौं, ललितपुर, बारा र पर्सा जिल्लाका लायन्स क्लबहरुको छाता संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालको गभर्नर हेटौँडाकै टासी डोल्मा तुङ्बाहाम्फे हुनुहुन्छ ।
नियमित बैठकको रुपमा लायन्स इन्टरनेशनलले पछिल्लो तीन महिनाको कामको समीक्षा गर्नुका साथै आगामी तीन महिनाको योजना तय गर्ने लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका जनसम्पर्क प्रमुख जेपी यादवले जानकारी दिनुभयो । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालमा मकवानपुरसहित ५ जिल्लाका १ सय १९ वटा लायन्स क्लबमा २ हजार २ सय भन्दा बढी सदस्य छन् । हेटौँडामा क्याबिनेट बैठकको स्थानीय आयोजकको रुपमा एरिया–२ रहेको यादवले बताउनुभयो । एरिया–२ को संयोजक यादव नै हुनुहुन्छ ।
क्याबिनेट बैठकअघि शुक्रबार प्रि–क्याबिनेट बैठक हुने उहाँले बताउनुभएको छ । क्याबिनेट बैठकको तयारी अन्तिम चरणमा रहेको र ४ जिल्लाबाट आउने लायन्स क्लबका पदाधिकारी, सदस्यहरुलाई मकवानपुरका पर्यटकीय क्षेत्रको भ्रमण समेत गराइने यादवले बताउनुभएको छ । पछिल्लो ३ महिनामा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपाल माहतका क्लबहरुले गत असोज १०, ११ र १२ गतेको वर्षाका कारण बाढीपहिरो पीडितलाई राहत वितरणमा उल्लेखनीय कार्य गरेको बताइएको छ ।