हेटौँडाः नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समिति र बागमती प्रदेश समितिको कार्यालयमा फेरि तालाबन्दी भएको छ । सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा असहमति जनाउँदै प्रेस चौतारी नेपाल मकवानपुर जिल्ला शाखाले हेटौँडास्थित महासंघको जिल्ला समिति र प्रदेश समितिको कार्यालयमा मंगलबार तालाबन्दी गरेको हो । केहीदिन अघि मात्रै प्रेस युनियनले लगाएको ताला खोलिएको थियो ।
प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा पत्रकारको एक समूहले महासंघको जिल्ला र प्रदेश कार्यालयमा मंगलबार बिहान तालाबन्दी गरेका हुन् । गलत मनसाय राखेर क्रियाशील पत्रकारलाई महासंघबाट बाहिर पठाउने कार्य भएको भन्दै प्रेस चौतारी मकवानपुरले ध्यानाकर्षण भएको उल्लेख गरेको छ । तालाबन्दीसँगै नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र संघीय समितिलाई सम्बोधन गरेर प्रेस चौतारी मकवानपुरले ध्यानाकर्षणपत्र समेत सार्वजनिक गरेको छ ।
महासंघले मंसीर २८ गतेका लागि तोकेका निर्वाचनसमेत यही अवस्थामा वैज्ञानिक, वैधानिक र व्यवहारिक नहुने प्रेस चौतारी मकवानपुरको ठहर छ । फर्जी पत्रकारलाई महासंघको सदस्यता दिन नहुने जीकिर गर्दै प्रेस चौतारी मकवानपुरले फर्जी पत्रकार रहेसम्म महासंघको निर्वाचन समेत हुन नसक्ने जनाएको छ । सदस्यता प्रदान गरिएका फर्जी पत्रकारको सदस्यता खारेज हुनुपर्ने, सदस्य हुनबाट बञ्चित गरिएका सक्रिय पत्रकारहरुलाई तुरुन्त सदस्यता नदिएसम्म महासंघको निर्वाचन हुन नसक्ने प्रेस चौतारीले स्पष्ट पारेको छ । यता नेपाल पत्रकार महासंघले भने मंगलबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।