हेटौँडाः हेटौँडा–१२ मा जारी उपनिर्वाचनअन्तर्गत मतदानका क्रममा आइतबार दिउँसो ३ बजेसम्ममा ५ हजार १ सय ८४ जनाले मतदान गरेका छन् । कुल मतदाता ८ हजार ५३ जना रहेको वडामा दिउँसो ३ बजेसम्ममा ६४ दशमलव ३७ प्रतिशत मतदाताले मतदान गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ ।
बिहान ७ बजेदेखि शान्त वातावरणमा मतदान भइरहेको छ । प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा २ हजार ८ सय ५९ जनाले मतदान गरेका छन् भने विष्णुज्योति आधारभूत विद्यालयमा २ हजार ३ सय २५ जनाले मतदान गरेका छन् । साँझ ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको छ । हेटौँडा–१२ को उपनिर्वाचनमा विभिन्न राजनीतिक दलबाट ९ जना र ३ जना स्वतन्त्र गरी १२ जना उम्मेदवार छन् ।
मतदान सकिएलगत्तै आजै मतगणनाको कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।