हेटौंडाः उच्च अदालत बार एशोसिएसन हेटौँडाको सभाहलको उद्घाटन गरिएको छ । शनिबार एक समारोहकाबीच नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले सभाहलको उद्घाटन गर्नुभएको हो । सभाहलको उद्घाटनपछि प्रमुख अतिथि घिमिरेले उच्च अदालत बार एसोेसिएसन हेटौँडालाई ५० हजार रुपैयाँ नगद सहयोग गर्ने घोषणा गर्नुभयो ।
उहाँले नेपाल बार काउन्सिलका सबै व्यक्तिहरु एकजुट हुन आवश्यक रहेको बताउनुभयो । बार एशोसिएसन न्यायिक शक्ति भएपनि आर्थिक पाटोले कमजोर भएको जीकिर गर्नुभयो । आवश्यकता अनुसार बार काउन्सिलले विभिन्न ठाउँमा सहयोग गर्दै आएको उहाँको भनाई छ । कार्यक्रमका सभाध्यक्ष अरुण कुमार खतिवडाले २०७८ सालमा कार्यसमिति गठन भएपछि थोरै कामहरुको सुरुवात गरेर २०७९ साल फागुन महिनामा भौतिक गतिविधिलाई अगाडि बढाउने काम गरेको बताउनुभएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको २० लाख रुपैयाँ बजेटबाट बार भवनको तेस्रो तल्लामा सभाहल निर्माण गरेको उहाँको भनाई छ । आगामी दिनहरुमा संरचनात्मक तथा सुधारात्मक काम गर्न सक्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सभाहलमा एक सय जना क्षमताको रहेको उच्च अदालत बार एसोसिएसन हेटौँडाका सदस्य मोहनप्रसाद ढकालले जानकारी दिनुभयो । भवन उद्घाटन कार्यक्रममा महान्यायाधिवक्ता रमेश वडाल, उच्च अदालत पाटन हेटौँडा इजलाशकी मुख्य न्यायाधीश यमुना भट्टराई, न्यायाधीश डा. शान्ता सेढाई, बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुकदेव काफ्ले, नेपाल बार काउन्सिलका केन्द्रीय पार्षद् वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्ले, बार एशोसिएसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतको पनि आतिथ्य रहेको थियो ।