हेटौँडाः बकैया गाउँपालिका–४ स्थित महेन्द्र माध्यमिक विद्यालय प्रविधिक शिक्षालयको शैक्षिक सुधारका लागि शिक्षक–विद्यार्थी–अभिभावकबीच शुक्रबार त्रिपक्षीय प्रतिबद्धता व्यक्त भएका छन् । विद्यार्थीको शैक्षिक सुधारका लागि त्रिपक्षीय प्रतिवद्धता व्यक्त गरी एकसाथ सुधारको प्रयास थालिएको विद्यालयकी प्रधानाध्यापक दीपा सिग्देलले जानकारी दिनुभयो ।
कक्षा ८, १० र १२ का विद्यार्थी, विद्यार्थीका अभिभावक र विद्यालय बीच प्रतिवद्धता कार्यक्रम भएको हो । विद्यार्थीको नतिजा कम्तिमा पनि ५० प्रतिशत बनाउने विद्यालयको मुख्य योजना रहेको प्रधानाध्यापक सिग्देलले बताउनुभयो । विद्यालयले अभिभावक वर्गमा विद्यार्थीको नियमित उपस्थितिमा जोड दिँदै बालबालिकाको खानपानमा मुख्य ध्यान दिन जरुरी रहेको बताएको छ । यस्तै घरमा विद्यार्थीलाई अध्ययन गर्न सहज वातावरण बनाउन अभिभावकले प्रतिबद्धता व्यक्त गरेको छन् । विद्यार्थीले अनुशासनमा रहने र शिक्षकसँग सहकार्य गरी अध्ययन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा अभिभावकको उपस्थिति सन्तोषजनक रहेको प्रधानाध्यापक सिग्देल बताउनुहुन्छ । अभिभावकले विद्यार्थी विद्यालयमा आए, नआएको निगरानी गर्न अनुरोध गरेको छ साथै सकारात्मक प्रतिक्रिया जनाएका छन् । कमजोर विद्यार्थीका अभिभावकहरु विद्यालयमा कम आउने र भेलामा पनि उपस्थित नहुने गरेको प्रधानाध्यापकको भनाई छ । विद्यालयले कक्षागत भेलाको तयारी गरिरहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतमको पनि विशेष आतिथ्य रहेको थियो । विद्यालयको कक्षा ८ मा ४७ जना, कक्षा १० मा ६९ जना र कक्षा १२ मा ११० जना विद्यार्थी अध्ययनरत छन् ।