मतदान गर्नुहुँदै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान ।

हेटौँडाः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को एक वडा अध्यक्ष पदका लागि मतदान जारी छ । बिहान ७ बजेमा सुरु भएको मतदानमा मतदाताको उत्साहजनक उपस्थिति रहेको छ ।

२ मतदानस्थलको ९ मतदान केन्द्रमा मतदाता लामवद्ध भएर मतदान गरिरहेका छन् । बिहान १० बजेसम्ममा १ हजार ७ सय ६८ मत खसेको छ । विष्णुज्योति आधारभूत विद्यालयस्थित मतदानस्थलको ४ वटा मतदान केन्द्रमा ७ सय ५४ मत खसेको छ । सो मतदानस्थलमा ३ हजार ६ सय २५ मतदाता छन् भने प्रतिभा आधारभूत विद्यालय सिग्रेनीमा ४ हजार ४ सय २८ मतदाता छन् । उक्त मतदानस्थलको ५ मतदान केन्द्रमा हालसम्म १ हजार १४ मत खसेको छ ।

हेटौंडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।

निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरु परिचालन गरिएको छ । निर्वाचनलाई भयरहित बनाउन बाक्लो मात्रा सुरक्षाकर्मी परिचालन गरिएको छ । वडा प्रवेशको हरेक नाकामा सुरक्षाकर्मीहरुको सुरक्षाजाँचमा कडाई गरिएको छ भने ४ वटै सुरक्षा निकायलाई सुक्ष्म तवरले सुचना संकलन तथा सुरक्षाको संयन्त्रहरु परिचालन गरिएको छ ।

हेटौंडा–१२ को एक वडा अध्यक्ष पदका लागि १२ जना उम्मेदवार छन् । जसमध्ये दलबाट ९ जना र स्वतन्त्र ३ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । दलबाट एमालेका राजेश नगरकोटी, कांग्रेसका अर्जुनप्रसाद तिवारी, माओवादी केन्द्रका रवि कुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाईबा, मंगोल नेशनल अर्गनाइजेशकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार रहेका छन् भने स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।

२०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख बन्नु भएसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो ।