हेटौंडा । स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ मा एक वडाध्यक्ष पदका लागि मतदान सुरु भएको छ । वडामा रहेको २ मतदानस्थलमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
हेटौंडा–१२ मा २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएर कुल ८ हजार ५३ मतदाता रहेका छन् । जसमध्ये ४ हजार ४२८ जना पुरुष र ३ हजार ६२५ जना महिला र एक अन्य मतदाता रहेका छन् ।
निर्वाचनका लागि प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा र विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा मतदानस्थल कायम गरिएको छ । प्रतिभामा ५ वटा मतदान केन्द्र रहेको छ भने विष्णुज्योतिमा ४ वटा गरी कुल ९ वटा मतदान केन्द्र रहेका छन् । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार प्रतिभा मतदानस्थलमा ४ हजार ४२८ र विष्णुज्योतिमा ३ हजार ६२५ मतदाताले मतदान गर्नेछन् । निर्वाचनका लागि ९ वटा केन्द्रमा ४५ जना कर्मचारीहरु परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा निर्वाचन केन्द्रमा ५ जना कर्मचारी र १ जना स्थानीय स्वयम्सेवक रहने व्यवस्था गरिएको छ ।
हेटौंडा–१२ को वडा अध्यक्ष पदको निर्वाचनपछि मतगणना कार्य हेटौंडा बजार क्षेत्रमा गरिने भएको छ । मतगणना कार्य हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको सभा हलमा गरिने तय गरिएको छ ।